देउवाविरुद्धको उम्मेदवारी निस्क्रिय बनाउन एकीकृत समाजवादीको निर्देशन

देउवाविरुद्धको उम्मेदवारी निस्क्रिय बनाउन एकीकृत समाजवादीको निर्देशन

गठबन्धनको केन्द्रीय नीतिविपरित काँग्रेस (बीपी)सँग तालमेल गर्ने निर्णय सच्याउन र उम्मेदवारी निस्क्रिय पार्न एकीकृत समाजवादीले डडेल्धुरा जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

महासचिव डा. बेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिएका डा. ताराप्रसाद जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निस्क्रिय पार्न निर्देशन दिँदै अन्यथा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

केन्द्रमा भएको सहमति उल्ट्याउँदै जोशीले डडेलधुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि संघमा (बीपी) काँग्रेसका कर्ण मल्ल र प्रदेशमा जोशीलाई समर्थन गर्ने गरी दुई पार्टीबीच तालमेलको सहमति भएको थियो । जिल्ला तहमा भएको उक्त सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भोट हाल्नुपर्ने अवस्था बनेपछि समाजवादीले केन्द्रबाट हस्तक्षेप गरी जोशीको उम्मेदवारी निस्क्रिय पार्न र गठबन्धनको पक्षमा उभिन जिल्ला कमिटीलाई निर्देश गरेको हो ।महासचिव भुसालले जिल्ला कमिटीका अध्यक्ष कविन्द्र विष्टलाई पनि पार्टी निर्णय विपरितका गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएका छन् । केन्द्रको निर्देशन पालना नगरे स्वत: जिम्मेवारीबाट मुक्त हुने भुसालको चेतावनी छ ।

टिप्पणीहरू