क्लिनस्वीप हुन किन कठिनाइ ?

क्लिनस्वीप हुन किन कठिनाइ ?

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन देशैभर दुई ब्लकमा बाँडिएर हुने देखिएको छ । निर्वाचनभन्दा अगाडि स्वतन्त्रहरूको हल्ला चर्चा देखिए पनि विभिन्न चलाखी मार्फत् आफ्ना बदनामीहरू छोप्दै आएका घण्टी चिह्नधारी रवि लामिछानेले रहरमा चर्चा गरेका धेरै स्वतन्त्रलाई आफ्ना पार्टीमा बाँधेपछि अन्ततः दलहरूबीचकै प्रतिष्पर्धातिर मतदाताको ध्यान तानिएको छ । उपत्यकाको एलिट वर्ग र परम्परागत जातीय तथा काँठ समुदाय भएको ललितपुर स्वतन्त्रको हौवाले त हल्लिँदैन तर जिल्लाभर एउटै शैलीको परिणाम दिने गरेको इतिहास यसपटक बदलिँदै छ । ०६२÷६३ को जनआन्दोलनपछि ०६४ मा तीन वटै क्षेत्रबाट नेकपा माओवादीलाई जिताएको ललितपुरले ०७० तीनवटै क्षेत्रमा कांग्रेसलाई जितायो भने ०७४ मा वाम गठबन्धनलाई संघीय ३ र प्रदेशका ६ गरी ९ वटै क्षेत्र दिलाइदियो । इतिहासको भिन्न परिचय भएको ललितपुरले यो पटक भने मिश्रित परिणाम दिने आंकलन छ । हुन त घरदैलो नै शुरु भइसकेको छैन । अन्तरविरोध व्यवस्थापनका स्वरूपहरू देख्दा वाम लोकतान्त्रिक गठबन्धन बलियो देखिएको छ । संघीय निर्वाचननिम्ति तीनवटा सीटमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक वटा लिएका छन् । प्रदेशमा ६ मध्ये नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले २ सीट लिएर गठबन्धन बनेको छ ।

यता ललितपुर वामपन्थीहरूको लालकिल्ला भएकोले कुनै हालतमा त्यसलाई जोगाउने नेकपा एमालेकोे दावी छ । एमालेबाट निर्वाचित वडाध्यक्षहरू आयोगको आचारसंहिताको बहाना देखाएर पन्छिरहेका छन् । रैथाने एमाले कमजोर हुनेगरी नेकपा माओवादी छाडेर आएकाहरूलाई अन्तिम समयमा समानुपातिकमा नाम राखेको कारण धेरैले मन दुखाएका छन् । अहिले पार्टीभित्र ‘घनश्याम बनाइदिने’ भन्ने कार्वाहीको कोड नै विकास गरिसकेको समानुपातिकबाट अन्तिममा नाम काटिएका एक नेताले बताए । घनश्याम बन्नुभन्दा चुपचाप काम साफ गर्नेगरी केही नेता चुनावको दिन गनिरहेको बताइन्छ । पार्टीले भने अन्तरघात गर्ने सम्भावित व्यक्तिहरूको सूची नै बनाएर उनीहरूका पछाडि दुई दुई जनाको टोली खटाएको छ । विशेष गरी स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिकामा आफ्नैको अन्तरघातले मेयर गम्भीर राणा हारेको पार्टी संस्थापन समूहको निश्कर्ष छ ।

टिप्पणीहरू