सहकारी संस्थाका बिचौलिया प्रहरी नियन्त्रणमा
सहकारी संस्थाबाट ऋण मिलाइदिने आश्वासनमा ठगी गर्दै हिँडेका एक पुरुष पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१, कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणिकुमार थापा ठगी आरोपमा समातिएका हुन् ।
उनले अछामको चौरपाटी गाउँपालिका–४, घर भइ हाल ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने नरेन्द्रकुमार भुललाई ठगेका हुन् । आफू बाँसबारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक रहेको र उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाइदिने आश्वासनमा तीन लाख १२ हजार ठगेको प्रहरीले बताएको छ ।
भुललाई सहकारी संस्थाको खाता खोल्ले फारम, सदस्य पहिचान फारम, शेयर दरखास्त फारम समेत भर्न लगाई ऋण रकमको १० प्रतिशतका दरले तीन लाख रुपैयाँ र सेवा शुल्क वापत १२ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएका थिए ।
थापाले उल्लेख गरेका बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । थापालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, पठाइएको छ ।
टिप्पणीहरू