चुनावको मुखमा सशस्त्रका हाकिमको सरुवा
सरकारले सशस्त्र प्रहरीका दुई अधिकारीको काज सरुवा गरेको छ । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा असोज ३१ गते गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एक डिआइजी (नायव महानिरीक्षक) र एसएसपी (वरिष्ठ उपरीक्षक)लाई काजमा खटाउने निर्णय गरेको हो ।
जसअनुसार हल्चोकस्थित सशस्त्र मुख्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका डिआइजी दुर्गाप्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबार सरुवा भएका छन् । काज खटाइएका एसएसपी विश्वकुमार भट्टराई ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली पुगेका छन् ।
यसअघि उनी १ नम्बर बराह बाहिनी मुख्यालय, सुनसरीमा कार्यरत थिए । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले हिजो सर्कुलर गरेको पत्रअनुसार विश्वकुमारलाई पूर्वबाट प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरा रहेको बाहिनीमा लगिएको हो ।
सशस्त्र मुख्यालयले राष्ट्रिय किताबखानालाई सोही पत्रमार्फत् दुई कर्मचारीको काज सरुवा गरेको जानकारी गराउँदै सोहीअनुसार गर्न अनुरोध गरेको छ ।
यसअघि सशस्त्रले असोज ३१ गतेकै मितिमा महानिरीक्षकबाट भएको निर्णयबमोजिम भन्दै चार जना एसपीको सरुवा गरेको थियो ।
टिप्पणीहरू