अध्यक्ष ओलीले अत्याचार गरेको भीम रावलको आरोप
जिल्लाबाट सर्वसम्मत सिफारिस भएर पनि अध्यक्ष केपी शर्मा ओलीबाट टिकट खोसिएका नेकपा एमालेका नेता भीम रावलले आफूमाथि अन्याय र अत्याचार भएको बताउनुभएको छ । आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँले अध्यक्ष ओलीले अत्याचार गरेको भन्दै चर्को आलोचना गर्नुभएको हो ।
अध्यक्ष ओलीको नाम उल्लेख नगरि नेता रावलले अन्याय गरेर उल्टै सार्वजनिकरुपमा नबोल्न निर्देशन दिएकोप्रति असन्तुष्टी जनाउँदै लोकतन्त्र र कम्युनिष्ट पार्टीमा त्यस्तो गर्न मिल्छ ? भनी प्रश्न पनि गर्नुभयो । ‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ र ?’ उहाँ सोध्नुहुन्छ । ट्वीटरमा रावलले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै अर्को प्रश्न पनि गर्नुभएको छ ।
आफ्नो टिकट खोसिएको सन्दर्भमा सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरिएको सुनेको भन्दै उहाँले चिनियाँ साहित्यकारको एउटा किस्सा जोड्नुभएको छ । ‘चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ- बिरालोले मुसा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी-अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्ने । यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ’, रावलले लेख्नुभएको छ ।
टिप्पणीहरू