खानेपानीमन्त्रीको गाडीमा काँग्रेसको झण्डा, नम्बर प्लेट परिवर्तन गरेर आचारसंहिता उल्लंघन

खानेपानीमन्त्रीको गाडीमा काँग्रेसको झण्डा, नम्बर प्लेट परिवर्तन गरेर आचारसंहिता उल्लंघन

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै खानेपानीमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेका छन् । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका काँग्रेस सहमहामन्त्री एवम् खानेपानीमन्त्री चौधरीले निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार गर्ने क्रममा सरकारी गाडीको नम्बर परिर्वतन गरेर प्रयोग गरेको पाइएको छ ।

मन्त्री चौधरीले रातो र निलो रंगको बा. २ झ ५८६१ नम्बरको नम्बर प्लेट परिवर्तन गरी बा.१२ च ७४३१ नम्बरको नयाँ प्लेट राखेर प्रयोग गरेका हुन् । बारा जिल्लाका मन्त्री चौधरी कोही हप्तादेखि घरमा बसेर चुनावी प्रचारमा होमिएका छन् ।

उनले चुनावी प्रचारमा सरकारी गाडी प्रयोग गर्दै आएको स्थानीय राम एकबाल चौधरीले बताए । ‘मैले पहिले मन्त्रीज्यूको यहि गाडीमा सरकारी नम्बर देखेको थिएँ, विगत तीन चार दिनदेखि निजी नम्बर हालेको देखेँ,’ चौधरीले भने ।

आगामी निर्वाचनका निम्ति जारी आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

यसअघि स्थानीय तहको निर्वाचनमासमेत उनले आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारप्रसारमा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीयले उजुर गरेका थिए ।

टिप्पणीहरू