माष्टर सेफ र अञ्जु एकअर्कामा मग्न

माष्टर सेफ र अञ्जु एकअर्कामा मग्न

दशैंका बेला गत ६ अक्टोबर बेलुका लण्डन बस्ने अञ्जु बस्नेतले ‘हाम्रो दशैं, राम्रो दशैं’ भन्दै २२ वटा तस्बिर फेसबुकमा पोष्ट गरिन् । जसमा उनैले बीबीसी माष्टर सेफ प्रतियोगिताका उपविजेता सन्तोष साहलाई टीका लगाइदिएको र अंकमाल गरेको देखिन्छ । अञ्जु सन्तोषभन्दा जेठी भएकाले पनि उनले दशैंको टीका लगाइदिएको हुनुपर्छ ।

यसअघि अञ्जु र सन्तोष प्रायः इभेन्ट्समा सँगै देखिने गरे पनि औपचारिक रूपमै आफ्नो जोडीको फोटो अञ्जुले सार्वजनिक गरेकी थिइनन् । अञ्जु–सन्तोष झण्डै दुई दुईवर्षयता साउथ इष्ट लण्डनमा सँगै बस्दै आएको उनलाई चिन्नेहरु बताउ“छन् । सन्तोष सिंगल हुन् भने अञ्जुको यसअघि दुई पटक सम्बन्धविच्छेद भइसकेको छ । उनीहरूको सम्बन्ध बिहेमै परिणत हुने सम्भावना धेरै रहेको बताइन्छ । यसो भए अञ्जुको तेश्रो श्रीमान् हुनेछन् सन्तोष । बेलायतमा यो जोडीले जस्तो रोमान्टिक दिनचर्या अरुले सायदै बिताएका होलान् ।

विश्वमै लोकप्रिय बीबीसी माष्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष सम्भवतः पहिलो नेपाली हुन् । बीबीसी माष्टर सेफमा रनरअप भएपछि उनको चर्चा देश–विदेशमा चुलियो । सामाजिक सञ्जालमा फलोअर्स बढे । बीबीसी माष्टर सेफको रिम्याचमा त उनी पहिलो नै भए । यस अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताबाट सन्तोष सेलिब्रेटी नै बने ।

सामान्य परिवारबाट संघर्ष गर्दै उठेका सन्तोषलाई अञ्जुले बीबीसी माष्टर सेफमा नजाँदैदेखि आर्थिक तथा भावनात्मक सहयोग गर्ने गरेको बताइन्छ । सिरहा कर्जन्हा निवासी साह एसएलसी फेल भएपछि दुई दशकअघि १५ वर्ष छँदा भारत गएका थिए । सामान्य किचन पोर्टर हुँदै पाँचतारे होटलको एक्जिक्युटिभ सेफसम्म बन्न सफल भए । उत्कृष्ट दक्षता देखाएरै सन् २०१० को अन्त्यतिर वर्क पर्मिटमा लण्डन उत्रिएपछि उनले कहिल्यै पछाडि फर्कनु परेन ।

बेलायत उत्रिएको एक दशकमा सन्तोषले यहाँ प्रतिष्ठित भारतीय रेष्टुरेण्ट तथा होटलहरूमा हेड सेफ भएर काम गर्ने मौका पाए । यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त रेष्टुरेण्टमा एक्जिक्युटिभ सेफसम्म भएका उनी आफूले यसअघि सँगै काम गरेका मिसिलिन स्टार, सेलिब्रेटी सेफहरूबाट सिकेको व्यावसायिक सीप र अनुभव नेपाली खाना प्रवर्धनमा सदुपयोग गर्ने संकल्पसाथ अगाडि बढेका छन् । उनले कुक बुक ‘अएला’ पनि निकालेका छन् । लण्डनमा अन्य व्यवसायीसँग मिलेर टेकवे शुरु गरेको पनि बताइन्छ । हालै मात्र नेपाल फुड्सले सन्तोषको रेसिपीमा ५ वटा मौलिक नेपाली तयारी खाना सार्वजनिक गरेको थियो ।

टिप्पणीहरू