सजगता नअपनाउँदा बाराका आधा दर्जन घरगोठमा दिपावलीसँगै आगलागी

सजगता नअपनाउँदा बाराका आधा दर्जन घरगोठमा दिपावलीसँगै आगलागी

हिजो साँझ लक्ष्मीपूजा र दिपावली मनाउने क्रममा बाराका विभिन्न ठाउँमा आगलागी भएको छ । दिपावलीमा बालिएको दीयोको कारण आगलागी भएको बताइएको छ ।

आगलागीबाट लाखौंंको क्षति भएको छ । उक्त घटनामा केही घरपालुवा पशुपंंक्षीसहित जनावर पनि जलेका छन् ।

प्रहरीका अनुसार आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वा टोलका नेमिलाल राउत कुर्मीको गोठमा लागेको आगोबाट त्यहँ रहेका दुई वटा बाख्रा, चार वटा पाठापाठी, पाँच वटा कुखुरा र तीन वटा हाँस जलेका छन् । उक्त आगलागीमा एउटा गाई पनि परेको छ ।

उता निजगढ नगरपालिका ७ रुम्बा टोलका भीम रुम्बाको कुखुरा खोरमा मैनबत्तीका कारण आगलागी हुँदा तीन वटा राँगा जलेका छन् । कुखुराको दाना, भाँडाकुँडा, पराल पनि नष्ट भएको प्रहरीको भनाइ छ ।

सदरमुकाम कलैया उपमहानगरपालिका २०, बसतपुर टोलका लक्ष्मण साहको घरमा पनि आगलागी भएको छ । त्यहाँ रहेको किराना पसलमा लागेको आगोबाट फ्रिज, चामल र अन्य मालसमान जलेको छ ।

कलैया –२७ सिसवा महेशपुर टोलका भुलावन रामकोे फुसको घरमा दियोबाट सल्केको आगोबाट लत्ताकपडा, भाँडाकुँडा, मोटरसाइकल, नगद १० हजार र २ आना सुन जलेर नष्ट भएको बताइन्छ ।

पचरौता नगरपालिका ३ रामनगर टोलका सुरज पासवानको घरमा पनि दीपावली मनाउने क्रममा आगलागी भएको छ । आगोबाट नगद साढे दुई लाख तथा केही धनमाल नष्ट भएको छ ।

विश्रामपुर गाउँपालिका १, वटनचोकमा रहेको सोनालाल चौवेको चिया पसलमा हिजो राति आगलागी भएको हो ।

टिप्पणीहरू