उम्मेदवारी खारेज गरिएकी तोसिमाको रिटउपर भोलि सुनुवाइ

उम्मेदवारी खारेज गरिएकी तोसिमाको रिटउपर भोलि सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध कार्कीले आज रिट दर्ता गराएकी हुन् ।

लाभको पदमा रहेको भन्दै आयोगले तोसिमाको उम्मेदवारी खारेज गरेपछि उनले उक्त निर्णयलाई चुनौती दिएकी छन् ।

डा. तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएकाले निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको भन्दै उम्मेदवारी खारेज गरिएको बताइएको छ ।

नियमित तलब नलिए पनि बैठकमा भत्ता लिने गरिएकाले त्यसलाई आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदाबी लिएर अदालत पुगेकी उनको रिट भोलिको पेसीमा राखिएको सर्वोच्च प्रशासनले बताएको छ ।

टिप्पणीहरू