भारतीय लुटेराहरु हतियारसहित समातिए, इन्सपेक्टरको औंला भाँचियो
रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीयलाई प्रहरीले पक्रेको छ । असोज २३ गते ४ बजेतिर लुम्बिनीको महिलवारको भित्री सडकमा हतियार देखाइ रेमिट्यान्स कम्पनीका कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका उनीहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको उत्तर प्रदेश, गोरखपुर नजिकैको भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहनी र २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको बताइएको छ ।
मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पछ्याउँदै उनीहरुले हतियार देखाएर लुटेका थिए । भारतीय नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका उनीहरुलाई रुपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।
भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेका लुटपाटमा संलग्न दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियार बरामद गरिएको छ । भाइटीकाको दिन साँझ ६ बजे कोटहीमाई गाउँपालिका–१, सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिइएको छ । त्यसक्रममा प्रहरीसँग प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजँग कार्कीको हातको औँला भाँचिएको हो ।
पक्राउ परेका सहनीको साथबाट सेमी अटोमेटिक पेस्तोल र सोमा लाग्ने म्याग्जिन एक थान, पाँच थान गोली र भट्टको साथबाट घरेलु कटुवा पेस्तोल, सोमा लाग्ने एक थान गोलीसहित मोबाइल र कागजात बरामद भएको एसपी रेग्मीले बताए ।
टिप्पणीहरू