भूकम्पपीडितको ६६ लाख ठगेका ठेकेदार तीन वर्षपछि पक्राउ, पीडितलाई सम्पर्क राख्न प्रहरीको अनुरोध
लमजुङ प्रहरीले घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले पीडित परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
भूकम्पपीडितको घर निर्माण गर्ने ठेक्का लिएका मकवानपुरको बकैया गाउँपालिका १०, अम्मासबेसीका ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरहरुको डीपीसी गरेपछि सरकारले दिने दोस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँका दरले पीडित ४४ जनाबाट ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई समातिएको डीएसपी प्रकाश श्रीमलले बताए ।
२०७२ बैशाख १२ गतेको भूकम्प पीडितहरुलाई सरकारले उपलब्ध गराएको रकम अपुग भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई थप ५० हजार रुपैयाँ दिएको थियो ।
त्यसपछि २०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले लिए । डीपीसीसम्म गरेपछि दोस्रो किस्ता बुझेर ठेकेदार बेपत्ता भएको बताइन्छ । उनीविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी वृत्त ललितपुरबाट खटिएको संयुक्त टोलीले कात्तिक ३ गते पक्रेको हो ।
कात्तिक ६ गते ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिएको थियो । उनीमाथि पुनः अस्ति ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले भूकम्पको लाभग्राही सूचीमा परेर ठेकेदार यमबहादुर थोकरबाट पीडित सबैलाई आवश्यक कागजातपत्रसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।
टिप्पणीहरू