प्रचण्डले भनेर आफू बागी उठेको दीपेन्द्रको दावी

प्रचण्डले भनेर आफू बागी उठेको दीपेन्द्रको दावी

रोल्पाको प्रदेश सभा ‘ख’ का स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव वर्षमान पुनको सहमतिमा उम्मेदवारी दिएको खुलासा गरेका छन् ।

वाम—लोकतान्त्रिक गठबन्धनको निर्णयविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका पुनले माओवादी नेतृत्वकै सहमतिमा उठेको दाबी गरेका हुन् । बागी उम्मेदवार पुनलाई उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रका शीर्ष नेताहरूले दबाब दिइरहेका छन् ।

‘प्रचण्ड र वर्षमान पुनको सहमतिमा उम्मेदवारी दिएको हुँ,’आफूनिकट नेता तथा कार्यकर्तासँग पुनले भने, ‘कुनै भ्रममा नपर्नुहोला पार्टीबाट राजीनामा दिए पनि म माओवादी नै हुँ ।’

उम्मेदवार पुनमाथि गठबन्धनका नेताहरूले एमालेसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाएपछि उल्टै माओवादीका शीर्ष नेताहरूको पोल खोलेका हुन् ।

उम्मेदवार पुन नेपाली काँग्रेसका उम्मेदवार तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरूद्ध चुनावी मैदानमा उत्रिएका हुन् । गठबन्धनको तर्फबाट रोल्पाको एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादीले पाएको छ । त्यस्तै, प्रदेशसभा (ख) काँग्रेसको भागमा परे पनि पोलिट्व्यूरो सदस्यसमेत रहेका उनी असन्तुष्ट बन्दै गठबन्धनको बागी उम्मेदवार बनेका छन् ।

त्यसो त उनले निर्वाचनपछि माओवादीमै फर्किने हल्लालाई पनि पुष्टि गरेका छन् । ‘प्राविधिक रुपमा मैले पार्टीबाट राजीनामा दिए पनि नेतृत्व वर्ग र पार्टीपंक्तिको सहमतिको आधारमा उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘ढुक्क भएर कुनै भ्रममा नपरी चुनाव चिन्ह ‘धारा’ मा मतदान गर्न अनुरोध गर्दछु ।’

टिप्पणीहरू