बेलायत बस्ने नेपालीहरुको आर्थिक अनियमिततासम्बन्धी मुद्दा फेरि स्थगित

बेलायत बस्ने नेपालीहरुको आर्थिक अनियमिततासम्बन्धी मुद्दा फेरि स्थगित

एनआरएनए यूकेमा आर्थिक अनियमितता भएको भन्दै दायर मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । गत सोमवार ३१ अक्टोबरका दिन डार्टफोर्ड काउन्टी कोर्टमा सुनुवाइ तोकिएको थियो । तर प्रतिवादीको फरक विवरणले केश जटिल बनेपछि थप समय आवश्यक भएर आउँदो २८ डिसेम्बर, २०२२ पछि उपलब्ध समयमा पुनः सुनुवाइ हुने श्रोतले जानकारी दिएको छ । अब प्रत्यक्ष सुनुवाइ हुनेछ ।

यसअघि पनि प्रतिवादी एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले सुनुवाइको पूर्वसन्ध्यामा थप समय मागेपछि अदालतको सुनुवाइ स्थगित भएको थियो । गुरुङले गत बर्ष ३० नोभेम्बरमा आफूसँग आधिकारिक बैंक खाता छैन भनेपनि एनआरएनए यूकेको मेन खातामा करिव ४-५ लाख पाउण्ड कारोवार भएको देखिएको, अक्टोबर २३ मा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई ५ वटा बैंकका विवरण सबै हस्तान्तरण गर्छु भनेको, पूर्व कोषाध्यक्षलाई २ लाख ‘ह्याण्डओभर’ गरें भनेको,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर बर्खास्त भइसकेको भन्ने विवरण पेश गरिएको लगायत कारण मुद्दा झन् जटिल बनेको हो ।

योगकुमार फगामी एनआरएनए यूके अध्यक्ष भएका बेला सन् २०१९ को कार्यसमितिले निर्वाचन गराउने क्रममा व्यापक अनियमितता गरेको दावीसहित संघका ६ जनाले एनआरएनए यूके लिमिटेड र तत्कालिन अध्यक्ष पुनम गुरुङलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए ।प्रेमबहादुर गाहामगर, उपाध्यक्षहरु नारायण कंडेल,मोहन कार्की र रामचन्द्र पोखरेल एवं प्रमुख संरक्षक शेरबहादुर सुनार र एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले गत वर्ष ७ अप्रिल २०२० मा मुद्दा दायर गरेका हुन् ।

निर्वाचनका क्रममा निवर्तमान अध्यक्ष योगकुमार फगामीले सदस्यता र उम्मेदवारी शुल्कबाट आएको नगद ’अन्धाधुन्द’ खर्च गरेको आरोप लाग्दै आएको छ । १३ हजार ६ सय २९ सदस्यको १० पाउण्डका दरले एक लाख ३६ हजार २९० पाउण्ड र उम्मेदवारी मनोनयन शुल्कवापत संकलित ७१ हजार ४०० पाउण्ड हिसावमा अनियमितता भएको आरोप्नछ । त्यति बेला अयोग्य सदस्यता शुल्कबाट २१४० पाउण्ड र डुब्लिकेट सदस्यताको ४७० पाउण्ड पनि संकलन भएको थियो ।

सन् २०१९ अन्ततिर फगामीले नवनिर्वाचित अध्यक्ष पुनम गुरुङलाई नेतृत्व हस्तान्तरण गरेपछि पनि अपारदर्शी तरिकाले खर्च भएको नगदको खोजवीन गरी असुल गर्नुपर्नेमा त्यसो नगरी झन् ढाकछोप गरिएको र यसबाट एनआरएनए यूकेलाई ठूलो नोक्सान भएको भन्दै एनआरएनए यूके लिमिटेड र तत्कालिन अध्यक्ष पुनम गुरुङलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

मुद्दाको छिनोफानो हुन बाँकी छँदै एनआरएनए यूके अहिले छिन्न भिन्न छ । त्यतिबेला मुद्दा दायर गर्न लगाउने उपाध्यक्षहरु नारायण कंडेल,मोहन कार्की र रामचन्द्र पोखरेल प्रेम गाहामगरलाई छाडेर अर्को समूहमा पुगेका छन् भने प्रमुख संरक्षक शेर सुनारले राजीनामा दिइसकेका छन् ।

टिप्पणीहरू