आउनै लागे हतियार अमेरिकाबाट
नेपालको सैनिक प्रचलनअनुसार एउटा प्रधानसेनापतिको कार्यकाल आधाउधी पुगेपछिमात्रै भावी प्रमुखको बाटो खुल्ने क्रममा अब दुई कार्यकाल खानेहरुको अनुहार देखिन थालेको छ । असोज २७ मा लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले अवकाश पाएपछि मेजर जनरल सीताराम खड्का तीन तारेमा उक्लिने तयारीमा छन् । अहिलेका टुआइसी सरोजप्रताप राणाको तीन महिना म्याद थप्न मिल्ने अवस्था पनि छ । तर त्यसो हुने सम्भावना भने देखिन्न । जसको सोझो फाइदा ताराध्वज पाण्डेलाई हुनेछ । उनी अहिले ‘डिजिएमओ’, अर्थात् अपरेशन चिफको जिम्मेवारीमा छन् । उनीपछि अशोक सिग्देल र निर्मल थापामध्ये एकजनाको बाटो खुल्छ । ४ वर्ष ९ महिना लगाएर अनुपजंग थापा र मधुकर कार्कीमध्येबाट प्रधानसेनापति बन्ने लाइन तय हुन्छ । त्यसपछिको दृश्य प्रष्टिएको छैन ।
राजनीतिक नेतृत्वले सैनिक संरचनालाई तलमाथि पार्दै अनुकूलको सेनापति ल्याउने प्रयास विगतदेखि नै गर्दै आयो । तर, सफल भएन । ०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला योगेन्द्रप्रताप राणालाई प्रधानसेनापति बनाउन मेजर जनरलबाट सीधै प्रधानसेनापति बनाउने व्यवस्था संशोधन गरी लेफ्टिनेन्ट जनरलबाट बनाउन थालियो । तर, ०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री र माधवकुमार नेपाल रक्षा मन्त्री हुँदा उनै योगेन्द्रप्रताप सम्भार रथी काण्डमा परे, सेनापति गडुलसमशेरले राजीनामा दिनुपर्ने स्थिति आयो ।
यसपछि पनि दरबारले आफ्नो सैनिक सचिव गजेन्द्र लिम्बुलाई प्रधानसेनापति बनाउन खोजेको थियो । नसकेपछि प्रदीपप्रताप बम मल्ललाई अगाडि सारियो । मुखैमा आएको प्रधानसेनापति हुने सपनालाई ०६२÷६३ को जनआन्दोलनले तुहाइदियो । रुक्माङ्द कट्वाल प्रधानसेनापति भए । गौरवसमशेर जबरा प्रधानसेनापति हुँदा प्रेमप्रकाश थापा मगरलाई सर्टिफिकेट काण्ड नलगाएको भए पूर्णचन्द्र थापा प्रधानसेनापति हुने थिएनन् । नेपालको अदालत पनि कस्तो छ भने, जर्नेलहरुका मुद्दामा फैसला त गरिदिने, तर बेला घर्र्किएपछि । प्रदीपप्रताप बम मल्लले अदालतबाट सफाई पाउँदा उनले अवकाश पाइसकेका थिए । प्रेमप्रकाशले पनि सर्टिफिकेट काण्डमा आफूलाई निर्दोष सावित गरे ।
तर, तत्कालिन प्रधानसेनापति रुक्माङ्द कट्वालले हाजिर हुनै दिएनन् । ०६५ सालमा रामबहादुर थापा (बादल) रक्षा मन्त्री हुँदा आठ जर्नेललाई घर पठाइँदा कट्वालले राति ८ बजेसम्म अदालत खोलेर आफ्नो पक्षमा फैसला गराए । त्यही फैसलाका आधारमा उनीसहितका आठ जर्नेल रातारात हाजिर भए । अदालतले आदेश दिएपछि रक्षा मन्त्रालयबाट सैनिक मुख्यालयमा चिठी जानुपर्नेमा त्यसलाई समेत कुर्ने धैर्यता राखिएन ।
यसबीच एकातिरको शल्यक्रिया गर्दा अर्कातिर समस्या पर्ने भएपछि पूर्वप्रधानसेनापति रुक्माङ्द कट्वालको स्वास्थ्यस्थिति चुनौतिपूर्ण बनेको छ । शरीरमा रहेको एकमात्र मिर्गौलामा खराबी आएपछि उनी प्रत्यारोपणका निम्ति बैंकक पुगेका थिए । मिर्गौला दिने दातासहित त्यहाँ पुगे पनि जस्ताको तस्तै फर्किए । कारण हो, प्रत्यारोपण गर्दा अर्कातिर समस्या पर्ने खतरा रहनु । त्यसपछि छाउनीस्थित सैनिक अस्पतालमा साताको दुईपटक डायलासिस गरिरहेका छन् । एकजना सैनिक चिकित्सकले बताएअनुसार, उनको शरीरमा ‘अओटिक एनोरिज्म’ छ । मुटुबाट तलतिर रगत जाने नशालाई ‘अओटा’ भनिन्छ । त्यही नशा प्रत्यारोपण गरिने किड्नीमा जोड्न नमिल्ने भएपछि डायलासिस गर्नुको विकल्प नरहेको हो । पहिला छोरीले मिर्गौला दिने कुरा थियो ।
उता, पञ्चायतकालका शक्तिशाली जर्नेल ऋषिकुमार पाँडे हिजोआज ‘मैले बनाएको त हो’ भन्दै सैनिक अस्पतालमै बस्नुपर्ने स्थितिमा पुगेका छन् । घरमा पारिवारिक बेमेल हुँदा बिरामीका नाममा आफैँ अस्पताल गएर बस्ने गरेको त्यहाँका चिकित्सकहरु बताउँछन् । लामो समय राजाको सैनिक सचिव भएर काम गरेका उनलाई उमेरजन्य स्वास्थ्य समस्याले गाँजेको बताइन्छ ।
त्यस्तै, ढल र नालामा बढ्दो प्रदुषणका कारण फैलिएको डेंगु महामारीबाट उच्चपदस्थ व्यक्तिहरु ढलेका छन् । अमेरिकाबाट स्वदेश फर्किएलगत्तै मुख्यसचिव शंकरदास बैरागीमा डेंगुको संक्रमण भेटियो । रक्षा सचिव किरणराज शर्माको परिवारका अन्य सदस्य पनि यही महामारीका कारण ओछ्यान परेका छन् । राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, चीनका निम्ति पूर्वराजदूत टंक कार्कीसम्म डेंगुले सताइए । अन्य रोगको झैँ डेंगुको अलग्गै खोप (भ्याक्सिन) छैन । भारतले सरसफाई र सतर्कताका अन्य उपाय अबलम्बन गर्दै डेंगु नियन्त्रण ग¥यो । नेपालमा भने महामारीकै रुप लिइसक्दा पनि नियन्त्रणकारी कार्यक्रम ल्याइएको छैन ।
यसैबीच धेरै वर्षअघि भएको सम्झौताअनुसारको हतियार बल्ल नेपाल झर्ने भएको छ । सेनाको प्रयोगका लागि भएको खरिद सम्झौताअनुसार, नोभेम्बर पहिलो साता पुरानो लटको ७ हजार थान एम सिक्टिन अमेरिकी राइफल आउन लागेको हो । यो हतियार खरिदका निम्ति प्रधानसेनापति राजेन्द्र क्षेत्रीकै पालामा सम्झौता भएको थियो । तर बीचमा पूर्णचन्द्रले कोरियन हतियार ल्याइदिए । अमेरिकाको फरेन मिलिट्री सप्लाई (एफएमएस) कार्यक्रमअन्तर्गत कोल्ट कम्पनीका १२ हजार ५ सय थान हतियार पनि आउने क्रममा छ । त्यसका लागि सवा २ अर्ब रकम निकासाको स्वीकृति मन्त्रिपरिषद र रक्षा हुँदै अर्थ मन्त्रालयमा गइसकेको छ । तर, यति ठूलो परिणाममा वैदेशिक मुद्रा सटही सुविधा छैन भन्दै निकासा अड्किएको बताइन्छ ।
टिप्पणीहरू