आजदेखि बोकाको बलि दिन खुल्ला
रुकुम पश्चिमको प्रसिध्द धार्मिक डिग्रे मेलाको दोस्रो दिन आज पनि बिहानैबाट डिग्रे साइकुमारी मन्दिरमा भक्तजनको भीड लागेको छ । हरेक वर्षको हरिबोधिनी एकादशीदेखि कार्तिक पूर्णिमासम्म लाग्ने मेला हिजोदेखि शुरु भएको थियो । हिजो पहिलो दिन पूजाआजा मात्र भएको मन्दिरमा आजदेखि बोकाको बलि समेत दिन खुल्ला गरिएको छ ।
एकादशी र पूर्णिमाको दिनबाहेक मेलाको अवधिमा अन्य दिन बलिसहित पूजाआजा गरिन्छ । मुसीकोट नगरपालिका ५,थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा यो वर्ष कार्तिक १८ गतेबाट शुरु भएको मेला कार्तिक २२ गते भव्य रुपमा सम्पन्न हुने डिग्रे मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ ।
यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भएपनि हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने मनोकांक्षा पूरा हुने विश्वाससहित बोकाको बलि चढाउने गरिन्छ । यो जिल्ला तथा कर्णाली प्रदेशकै ठूलो धार्मिक मेला हो ।
यस मन्दिरमा रुकुम पश्चिमसंगै छिमेकी जिल्ला रुकुमपूर्व, जाजरकोट,सल्यान,रोल्पा,दाङसंगै अन्य जिल्लाका हजारौं भक्तजन मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ ।
टिप्पणीहरू