काठमाडौंबाट गएका पत्रकारले नेपालगन्जमा जे देखे…

काठमाडौंबाट गएका पत्रकारले नेपालगन्जमा जे देखे…

चुनावी माहोल चर्केसङ्गै उम्मेदवारहरू कसरी जित्ने भन्ने दौडमा छन् । कतिपय क्षेत्रमा कडा प्रतिस्पर्धाको अवस्था छ । बाँके जिल्लाको नेपालगञ्ज क्षेत्र नम्बर २ मा पनि यसपाली जसपाका इस्तियाक राइन र डा.धवलसमशेर राणावीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपालगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संगठन खासै बलियो छैन तर राणा त्यहाँ आफैंमा लोकप्रिय व्यक्ति हुन् ।

२५ वर्षअघि २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए उनी । ३२ वर्षको उमेरमै नेपालगञ्ज हाँकेका राणा २०६२/२०६३ को राजनीतिक परिवर्तनपछि एमाले छाडेर राप्रपा प्रवेश गरे । आफ्नो राजनीतिक भविष्य दाउमा लगाएर एमाले छाडेका उनी २०६४ र २०७० सालका २ संविधानसभा निर्वाचनमा तत्कालीन बाँके–३ बाट उम्मेदवार बने पनि हार व्यहार्नुपर्‍यो । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी फेरि मेयरको उम्मेदवार बनेर भारी मतका साथ पालिकामै आए । राणा अहिले राप्रपाबाट बाँके–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । राणालाई एमालेले सघाएको छ ।

केन्द्रमा एमाले,जनता समाजवादी पार्टी (जसपा) र राप्रपाबीच तालमेल भए पनि यहाँ भने मित्रवत प्रतिस्पर्धा छ । एमालेले जसपासँग तालमेल हुनुअघि नै राणालाई प्रतिनिधि सभामा सघाउने वचन दिएको थियो भने यही क्षेत्रबाट निर्वाचित जसपाका नेता मोहम्मद इस्तियाक राइन पनि आफूले जितेको क्षेत्र छाड्न तयार भएनन् । अन्ततः जसपा, गठबन्धन तथा राप्रपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ,चर्चामा छन् राणा ।

सत्तारुढ गठबन्धनमा जसपा हुँदा पनि बाँके–२ को टिकट वितरणमा सकस परेको थियो भने गठबन्धनबाट जसपा बाहिरिएर एमालेमा आउँदासमेत उस्तै संकट छ । राणा पहिलो संसदीय यात्राको जीत निकाल्ने अभियानमा जुटेका छन् भने बाँके–२ का लागि राइन पनि निकै बलिया उम्मेदवार हुन् । सत्ता गठबन्धनबाट सुदीपनरसिंह राणा उठेका छन् ।

२०७४ सालको निर्वाचनमा राइनले २ वटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत निकालेका थिए । त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र चुनाव थिए । राप्रपा उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो । राइनले २१ हजार ५७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार ९५१ र राप्रपाका आजादले ११ हजार ६२२ मत पाएका थिए ।

राप्रपाका सहायक महामन्त्री ऋषि देवकोटा बाँके–२ मा यसपटक धवलसमशेर निर्विकल्प भएको दाबी गर्छन् । ‘यहाँबाट पटक–पटक निर्वाचित भएर पनि इस्तियाक राइनले केही काम गरेनन्,। बाँके–२ मा नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा र डडुवा गाउँपालिका पर्छन् । तर केही ब्यक्तिले भने इस्तियाकको विकल्प नेपालगञ्जले नखोजेको दाबी गरे । ‘उहाँले मन्त्री हुँदा धेरै काम गर्नुभएको छ । लोकप्रिय युवा नेता राइनको विकल्प बाँके–२ मा छैन,’

यस क्षेत्रमा २०% भन्दा बढी मुस्लिम मतदाता भएकोले उनलाई जीत निकाल्न सहज हुने स्थानीय नेता बताउँछन् । जसपा मधेशकेन्द्रित दल र राइन मुस्लिम समुदायकै भएकाले पनि त्यहाँका नागरिकको राइनले ‘सेन्टिमेन्ट’ प्राप्त गर्न सक्ने आकलन गरिएको छ । राइन निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् । कांग्रेस कार्यकर्ताले स्व.सुशील कोइरालाको निधनपछि यस क्षेत्रमा पहिलोपटक आफ्ना उम्मेदवारलाई मतदान गर्न पाउँदैछन् ।

कोइरालाले २०७० सालसम्म बाँके–२ बाट चुनाव लड्ने गरेका थिए । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्दा सहमति नभएपछि जसपाले गठबन्धन छाडेको हो । त्यसपछि कांग्रेसका सुदीपनरसिंहले चुनाव लड्ने अवसर पाएका छन् । सुदीपलाई माओवादी केन्द्र,नेकपा (एस) र राष्ट्रिय जनमोर्चाको साथ छ ।

सुदीप तरुण दलबाट राजनीतिमा आएका नेता भए पनि धवलसमशेर र इस्तियाकजस्तो जनतामाझ भिजेका भने देखिँदैनन् । गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस बलियो देखिन्छ । कांग्रेसले १८ हजार ३७,एमालेले १५ हजार ४७८, जसपाले १३ हजार ८०९, राप्रपाले ८ हजार ४९४, माओवादी केन्द्रले ६ हजार ८५९, नेकपा एसले ८२१ र लोसपाले ५६४ मत प्राप्त गरेका थिए । बाँके–२ मा १६ जनाको उम्मेदवारी परेको छ,जसमा ५ जना स्वतन्त्र छन् ।

सुदीपले डडुवाको डुबान समस्यादेखि नेपालगञ्जलाई परिवर्तन गर्ने गरी आफूले काम गर्ने बताउँदै भोट मागिरहेका छन् । नेपालगञ्जमा पर्ने बाँके–२ पश्चिम नेपालको प्रमुख व्यापारिक र औद्योगिक क्षेत्र हो ।

टिप्पणीहरू