गृहमन्त्रीको निर्वाचन क्षेत्रमा रुख चिन्ह अंकित मिठाई फालाफाल
निर्वाचन आचारसंहिता विपरित गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का मतादातालाई प्रभावित गराउनेगरी रुख चुनाव चिन्ह भएको मिठाई गाउँगाउँमा बाँडेको आरोप लागेको छ । रुख चुनाव चिन्हको कभर भएको मिठाई यतिबेला गाउँगाउँमा केटाकेटीलाई बाँडिएको छ ।
अर्कोतिर चुनावको मुखमा तक्मा बाँडिएको बताइन्छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँणको आतिथ्यमा भैरहवामा एक कार्यक्रमको आयोजना गरेर तक्मा बाँडिएको छ । यसअघि भैरहवाका व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुखलाई सरकारी तक्मा बाँड्नुभएका गृहमन्त्री खाँणले चुनावको मुखमा समाज सेवा पदक भन्दै तक्मा बाँडेको स्थानीयको आरोप छ । रुपन्देही युवा समूहको नाममा बाँडिएको उक्त तक्मा विगतमा सरकारी तक्मा नपाएकाहरुलाई खुशी पार्न दिइएको बुझिाएको छ । रामकृष्ण खाँण गृहमन्त्रीका सहोदर भाइ हुन् ।
ती पदकधारीलाई होटल पौवा र मौर्यमा खान, बस्न र सोमरसको निःशुल्क व्यवस्था गरिएको छ । गृहमन्त्री हुँदा पनि निर्वाचन नजितेमा रुपन्देहीको राजनीतिबाट विस्थापित हुने भयले अनेक हतकण्डा प्रयोग गरिएको विपक्षीहरुको आरोप छ । काँग्रेसका असन्तुष्ट पक्षलाई बढी प्राथमिकता दिएर टोलटोलमा आयोजित कार्यक्रममा उनीहरुलाई अतिथि बनाउने, अंकमाल गर्ने शैली अपनाए पनि उहाँको सामुन्ने शैलेश पन्तको टाउको फुटाउनेहरुविरुद्धको मुद्दा दर्ता नगरेको विषय अहिले पेचिलो बनेको छ ।
एमालेका केही असन्तुष्ट नेता तथा कार्यकर्तालाई फकाउने रणनीति बनाइएको देखिन्छ । तर डा. रामप्रसाद बस्याल, जीवलाल अर्याल, हरि अधिकारीहरु एक कदम अगाडि बढेर गृहमन्त्री खाँणका मुख्य प्रतिस्पर्धी देखिएका दीपक बोहोराको चुनावी कमान्डर बनेपछि मन्त्री स्वयम् रनभुल्लमा पर्नुभएको हो । मन्त्री खाँण र उहाँका भाइविरुद्ध मुख्यगरी स्थानीय तहको विगत र आगामी निर्वाचनमा सिद्धार्थनगरको मेयरको टिकट मिलाएको र मिलाइदिने भन्दै आर्थिक चलखेल गरेको आरोप छ ।
स्थानीय व्यवसायी कृष्ण प्रसाद शर्माले मन्त्रीको चुनावी खर्चको ५० प्रतिशत रकम क्रसर व्यवसायी र तिनाउ तथा दानव नदीमा ढुंगागिट्टी उत्खनन गर्नेहरुसँग संयोजन गरेर व्यवस्थापनको जिम्मा लिएको बताइन्छ । त्यसको प्रतिफलमा शर्मालाई भैरहवामा आगामी निर्वाचनमा काँग्रेसले मेयरको टिकट दिने वचन दिएको हो ।
यसका लागि चुनावसम्म प्रहरी प्रशासनले तिनाउ र दानव नदीतर्फ फर्केर नहेर्ने सहमति भएको छ । प्रहरी प्रशासनले आँखा चिम्लिएपछि यतिबला नदीमा ठेकेदारहरुले रातदिन उत्खनन् गरिरहेको स्थानीय बताउँछन् । जबकी स्थानीय पालिकाहरुले ढुंगा, गिटी, बालुवा उत्खनन्को ठेक्का लगाइसकेका छैनन् ।
टिप्पणीहरू