नवराज सिलवालको क्षेत्रका एमाले वडाध्यक्षले पार्टी छाडे
२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे काँग्रेस प्रवेश गरेका छन् । एमालेका ललितपुर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवाल र प्रदेश सभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ का प्रभावशाली घिमिरे काँग्रेस प्रवेश गरेका हुन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले काँग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुनव्यवसायी पनि हुन् ।
दुई पटक एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका उनलाई काँग्रेस प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार उदयशमशेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् । घिमिरेले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
गोदावरीमा भएको घरदैलो अभियानमा उनी आजै बिहानदेखि सक्रिय देखिएका हुन् । उनले भने, ‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ । जब केपी ओलीले संसद् विघटन गर्नुभयो, त्यो गैरसंवैधानिक कुरा थियो र पार्टीभित्र मैले त्यतिबेला पनि यो गैरसंवैधानिक छ भनेर कुरा उठाएँ ।’
जतिसुकै विवाद भए पनि संविधान र देशको लागि उक्त कदम गलत भएको बताउँदै आएका घिमिरेले पछिल्लो दिनमा एमालेले पूर्वपञ्चहरुलाई लिएर गठबन्धन बनाएपछि कार्यकर्तामा चरम असन्तुष्टि बढेको हो ।
टिप्पणीहरू