इञ्जिनियरिङ र कृषि अध्ययनमा चीनको ३२ वटा छात्रवृत्ति
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा इञ्जिनियरिङ गर्न चीन जान चाहने विद्यार्थीसँग आवेदन मागेको छ ।
चीन सरकारबाट सन् २०२३–२४ मा प्राप्त हुने इञ्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरिएको हो ।
आवेदनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तहका लागि इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ ।
त्यस्तै, कृषि विषयका लागि त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले पछिल्लोपटक सञ्चालन गरेको स्नातकोत्तर तहको परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने मन्त्रालयको छात्रवृत्ति शाखाले जनाएको छ ।
स्नातक तहका लागि २५ वर्ष र स्नातकोत्तर तहका लागि ३५ वर्ष उमेर नपुगेको हुनुपर्नेछ ।
स्नातकतर्फ बायो–मेडिकल इन्जिनियरिङ, एभिएसन एण्ड एरोनटिकल इञ्जिनियरिङ, बायो–इञ्जिनियरिङ एण्ड बायो–टेक्नोलोजी, केमिकल इञ्जिनियरिङ, माइनिङ, आयल एण्ड ग्याँस, पेट्रोलियम इञ्जिनियरिङका लागि कुल १५ सीट प्राप्त भएको छ ।
यता, स्नातकोत्तरतर्फ जियोम्याटिक्स इन्जिनियरिङ, एरोस्पेस इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ, रक एण्ड टनेल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ गरी नौ वटा सीट तोकिएको छ ।
कृषितर्फ एग्रिकल्चर बायो–टेक्नोलोजी, एग्रिकल्चर बायो–केमिस्ट्री, हर्टीकल्चर र एनिमल साइन्स गरी आठ सीट निर्धारण गरिएको छ ।
इच्छुक विद्यार्थीले आगामी मंसिर १० गतेभित्र छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा दरखास्त दिन सक्नेछन् ।
टिप्पणीहरू