रोल्पामा काँग्रेस उम्मेदवार हराउने रोडम्यापमा माओवादीहरु
रोल्पाको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट सत्ता गठबन्धनका उम्मेदवार रहेका पूर्वमन्त्री अमरसिंह पुनलाई स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ कडा चुनौतीको रुपमा उभिएका छन् ।
नेकपा माओवादी केन्द्रको आडमा चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस उम्मेदवार अमरमाथि टिकट नपाएपछि माओवादी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका उनै सिजल अहिले नजाँनिदो ढंगले गह्रौं बनेका हुन् ।
रोल्पाबाट प्राप्त समाचरअनुसार बाहिर जे देखिए पनि जिल्लाका अधिकांश माओवादी नेता—कार्यकर्ताहरू आन्तरिक रुपमा स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारमा जुटेका छन् ।
माओवादीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष वीरबहादुर केसी नै गठबन्धनका उम्मेदवार अमरसिंह पुनलाई हराउनुपर्ने अभियानमा लागेको पाइएको छ । उनी भन्छन्, ‘काँग्रेस खराब पार्टी हो । काँग्रेसलाई भोट नदिनू ।’ उनीसहित सबै गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा अन्य पदाधिकारीहरू अहिले गठबन्धनका उम्मेदवारको विरोधमा उत्रिएका छन् ।
माओवादी उपमहासचिव तथा रोल्पाबाट प्रतिनिधिसभा पदका उम्मेदवार वर्षमान पुन निकट केसी खुलेरै स्वतन्त्र उम्मेदवार सिजलको प्रचारमा लागेका छन् । अखिल क्रान्तिकारीका रोल्पा अध्यक्ष अशोक वली पनि सिजलको प्रचारमा निरन्तर खटिएका छन् ।
‘वर्षमान पुनले डबल रोल खेलिरहेका छन् । देशभर सत्ता गठबन्धनको जालो थपेर आफू सुरक्षित बने । अनि रोल्पामा स्वतन्त्र उम्मेदवार उठाएर काँग्रेस उम्मेदवारलाई हराउने खेल खैल्दैछन्,’ काँग्रेस रोल्पाका एक पदाधिकारीले भने ।
प्रतिनिधि सभाका उम्मेदवार वर्षमान पुन, प्रदेश सभाका उम्मेदवार अमरसिंह पुन र जोखबहादुर महरा सँगैसँगै चुनावी अभियानमा देखिए पनि माओवादी नेता—कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवारलाई मत माग्दै हिँडेका हुन् ।
गाउँगाउँमा आफ्नो चुनावी प्रचारलाई तीब्रता दिइरहेका सिजललाई उनै माओवादी कार्यकर्ताहरूको ठूलो समर्थन देखिन्छ । ‘वर्षमान कमरेडले धारा चिन्हमा भोट नहाल भन्नुभएको छैन । हामीहरू आ—आफ्नो विवेक प्रयोग गर्छौं,’ माओवादी रोल्पाका एक नेताले भने ।
गत स्थानीय तह निर्वाचनमा रोल्पामा सत्ता गठबन्धन तोडेको आरोप लगाउँदै प्रदेशसभा सदस्य पदका उम्मेदवार अमरसिंह पुनलाई अहिलेको निर्वाचनमा सहयोग गर्न नसकिने जिल्लामा खटिएका माओवादी नेताहरूको भनाइ छ ।
टिप्पणीहरू