सेनापतिका दुईवटा गम्भीर सरोकार
देश चुनावी सरगर्मीमा छ । त्यसका लागि आन्तरिक र बाह्य सुरक्षाका विषय स्वाभाविक रूपमा आउँछन् । तर, सेनालाई यतातिर भन्दा आफ्नैतिरको पिरलोले गाँजेको छ । शुक्रबार दिउँसो अर्थसचिव कृष्णहरि पुष्कर र प्रधानसेनापति प्रभुराम शर्माबीच सिंहदरबारमा भेट हुँदा दुई शीर्षकका रकममाथि कुरा भयो । एउटा हो, निर्माणाधीन प्रतिरक्षा विश्वविद्यालयका लागि, अर्को तालिमे उपसेनानी (क्याडेट सेकेण्ट लप्टन) हरूको तलबभत्ता समायोजनबारे ।
प्रहरी र सशस्त्रमा तालिमेहरू जुन दर्जामा उत्तीर्ण भएका हुन्छन्, सोही स्तरको तलब, रासन पाउने व्यवस्था भए पनि उपसेनानीको परीक्षा उत्तीर्ण भई तालिम नसकिएसम्म तलब मात्रै दिइने हो । साउन १ गतेदेखि सबै खाले जागिरेहरूको तलब बढेको छ तर सेनाका तालिमेहरू भने पुरानै स्केलमा पारिश्रमिक बुझिरहेका छन् । यसमध्ये प्रतिरक्षा विश्वविद्यालयको विषयलाई नेपाली सेनाले सबैभन्दा बढी महŒव दिइरहेको छ ।
नेपाल सरकारले २०७६ मंसिर ३० मा काभ्रे जिल्लास्थित पेरुङ्गे वन क्षेत्र (साँगा) को ७ सय ५० रोपनी जमिन सेनालाई प्रतिरक्षा विश्वविद्यालय स्थापनाका निम्ति दिने निर्णय भएबमोजिम तत्काल १ सय २२ रोपनी अधिग्रहण गर्न अनुमति दियो । त्यस प्रयोजनका निम्ति २०७५ माघ १४ गते जर्नेल ईश्वर हमालको अध्यक्षतामा ७ सदस्यीय समिति बनाइयो । र, ०७६ असार २३ मा सम्पर्क कार्यालय स्थापना भयो । ०७७ वैशाख २६ गते पूर्वाधार विकास समितिको नाममा अलग्गै निकाय खडा भयो ।
०७६ फागुन १२ को मन्त्रिपरिषद् बैठकले पूर्व तीनतारे जर्नेल बालानन्द शर्माको अध्यक्षतामा तीन सदस्यीय पूर्वाधार निर्माण विकास समिति गठन ग¥यो । त्यसमा प्रा.डा. युवराज संग्रौला र कूटनीतिज्ञ शम्भुराम सिंखडा सदस्य थिए । सेनाका नीति र सुरक्षा हेर्ने जर्नेलसहित त्यसमा रक्षा, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि, अर्थ, कानुन र गृहका प्रतिनिधि समेटिएका छन् । यसपछि नेपाली सेनाले कार्यकारी निर्देशक भनेर पहिला ब्रिगेडियर जर्नेल विष्णु राउतलाई खटायो, जो अहिले भर्ना छनौटमा छन् । त्यसपछि अर्का जर्नेल भोलाले जिम्मेवारी सम्हाले ।
सरकारले ०७६÷७७ को बजेटदेखि नै उक्त शीर्षकमा रकम विनियोजन गर्न थालेको हो । त्यहाँ ११ सय ५ वटा रुख काट्नुपर्ने, ग्राभेल सडक निर्माण, डिप बोरिङसहित डिपिआरका काम प्रारम्भिक बजेटबाट भएको थियो । प्यारेगन र डिपी कम्पनीले डिपिआर तयार पारेका हुन् । तीन फेजको विद्युत प्रशारण पुगिसकेको छ । पहिलो चरणमा निकासा भएको ४० करोड बजेटबाट ती काम भएका हुन् । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा ५८ करोड निकासा भयो ।
अहिले ४० करोड विनियोजित छ । उक्त परियोजना कूल ८ अर्ब २२ करोडको लागतमा सम्पन्न हुने अनुमान छ । त्यसलाई बहुवर्षीय निर्माण योजना बनाउनका लागि पहिलो वर्ष नै २ अर्ब निकासा हुनुपर्ने हो, त्यसो नहुँदा बहुवर्षीय परियोजना बन्न सकेको छैन । परियोजना सम्पन्न गर्नका लागि चार उपसमितिले काम गरिरहेका छन् । ती हुन्, प्राज्ञिक, व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र विधान मस्यौदा । विधान तयार पार्नका लागि नरेश भट्ट र सूर्यप्रसाद खनाललाई लगाइएको छ ।
विश्वविद्यालयको नाम ‘प्रतिरक्षा’ भए पनि त्यहाँ विपत व्यवस्थापन, द्वन्द्व व्यवस्थापनसहित शिक्षालय सञ्चालनमा आउने छन् । अवधारणापत्रमा नेपाल सरकारको सहसचिवबाट बढुवा हुनेहरूलाई तालिममा सहभागी गराइयो भने राम्रो हुने सुझाव दिइएको छ । त्यस्तो चलन भारत–पाकिस्तानमा पनि छ । तर, ती देशमा यसप्रकारका विश्वविद्यालय छैनन्, बन्ने क्रममा छन् । अर्कातिर, म्याद थप नहुने जर्नेलहरू भटाभट घर जाने भएका छन् । यदि सरोजप्रताप राणाको म्याद थपियो भने भावी प्रधानसेनापति भनिने ताराध्वज पाँडेको बाटो छेकिने पक्का छ । तर, म्याद थपमा सेनापति प्रभुराम शर्माले त्यति रुची लिएका छैनन् । यसअघि लेफ्टिनेन्ट जर्नेलमा बालानन्द शर्माको म्याद थप भएको थियो ।
सार्कका अन्य देशमा सैन्य सेवाको उमेरहद ६० वर्षे हुन्छ । तर, नेपालमा मात्र २ तारेको ५७ वर्ष छ । प्रधानसेनापतिका लागि ६१ वर्ष छ । यसरी उमेरमै घर पठाइँदा राज्यले निवृत्तिभरण (पेन्सन) बाट अर्बौं रकम फजुलझैँ खर्च गर्नुपर्ने स्थिति छ । जस्तो कि दुई तारे जर्नेलले अवकास पाएपछि पनि ५१ हजार ५ सय रूपैयाँ पेन्सन पाउँछन् ।
यसबीच, जागिर छाडेर या अवकाश पाउनासाथ युएनका विभिन्न सेवामा सहभागी हुने क्रम बढेको छ । अहिले पनि प्रचण्डको एडिसी रहिसकेका र सिभिल मिलिट्री कोर्ष गरेका अरुण पाल त्यस्तै सेवामा छन् भने पूर्णचन्द्र थापाद्वारा जागिर खोसिएका सुरेन्द्रबहादुर रावल कंगो पुगेका छन् । जुनियर अफिसरमा गत वर्ष दिवंगत तीनतारे कूलबहादुर खड्काका छोरा प्रवीण, प्राविधिक भीमसेन, विकाससहित थुप्रैले संयुक्त राष्ट्रसंघअन्तर्गत काम गरिरहेका छन् । दिवंगत अभिनेत्री नवीना केसीका पति पाइलट कर्णेल मदनले पनि त्यस्तो जागिर खाएका थिए । उनी अहिले कास्कीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि स्वतन्त्रबाट उठेका छन् ।
टिप्पणीहरू