रोल्पामा अझै अति संवेदनशील ठाउँहरु

रोल्पामा अझै अति संवेदनशील ठाउँहरु

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचनका लागि रोल्पामा तय भएका मतदानस्थलमध्ये झण्डै एकतिहाइ अतिसंवेदनशील छन् । सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा बाँडिएको मतदानस्थलमध्ये सामान्य मतदानस्थलको संख्या ज्यादै न्यून छ ।

जिल्ला सुरक्षा समितिले ८६ मध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदान स्थलको रुपमा वर्गीकरण गरेको छ । सबभन्दा धेरै रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकामा ६÷६ वटा खतरनाक केन्द्र छन् । दोश्रोमा सुनछहरी गाउँपालिका र लुंग्री गाउँपालिका पर्दछन् । ती दुई गाउँपालिकाभित्र ५/५ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

यसैगरी थवाङ गाउँपालिकामा ३, रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकामा २/२ तथा त्रिवेणी र माडी गाउँपालिकामा १/१ मतदानस्थल अतिसंवेदनशील छन् । सुनीलस्मृति गाउँपालिकामा भने कुनै मतदानस्थल अतिसंवेदनशील सूचीमा छैनन् ।

यसैगरी, ४२ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला सुरक्षा स्रोतले जानकारी दिएको छ । गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको रोल्पामा जनसंख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ५ वटा मतदान केन्द्र थप्न सिफारिस गरेको थियो ।

८६ मध्ये जिल्लामा स्थायी १७५ र अस्थायी २ सहित १७७ वटा मतदान केन्द्र कायम गरिएको छ । अस्थायी सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्रांगणमा केन्द्र स्थापना गरिएको छ । यहाँ कैदी, सेना प्रहरी तथा वृद्धाश्रममा रहेका व्यक्तिले समानुपातिक पद्धतिमा मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय रोल्पाका पदमबहादुर डाँगीले जानकारी दिए । प्रदेश सभा १ मा ६८ हजार १६४ र प्रदेश सभा २ मा ७७ हजार ३०७ सहित रोल्पामा १ लाख ४५ हजार ४७१ मतदाता छन् ।

टिप्पणीहरू