चितुवाको आक्रमणमा बाहिर पुरुष, घरभित्र दुई महिला घाइते

चितुवाको आक्रमणमा बाहिर पुरुष, घरभित्र दुई महिला घाइते

स्याङ्जाको वालिङ नगरपालिका–१४, कफ्लेटीमा चितुवाको आक्रमणबाट दुई महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन् ।

न्यौपानेलाई कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा आक्रमण गरी घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको थियो । घरभित्र रहेका तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरेर घाइते बनाएको स्थानीय सीता कुँवरले बताइन् ।

घाइते न्यौपानेको छाती तथा पाखुरामा चोट लागेको छ । तुलसाको अनुहारमा र लक्ष्मीको पाखुरामा गहिरो चोट लागेको छ । घाइते तीनै जनालाई प्राथमिक अस्पताल वालिङमा उपचारपश्चात थप उपचारार्थ गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिए ।

घरभित्रै थुनेर नियन्त्रणमा राखिएको चितुवालाई स्थानीयबासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू