गुल्मी २: यथास्थितिको पुनरावृत्ति या परिवर्तनको बाटो ?

गुल्मी २: यथास्थितिको पुनरावृत्ति या परिवर्तनको बाटो ?

-कमल शिशिर

केही हप्ता अगाडि सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरु बाँडिए जहाँ मान्छेहरु खोलामा निरिक्षण गरिरहेका देखिन्थे । ती तस्बिर हेर्दा सामान्य भए पनि हाम्रो भौगोलिक स्थिति, पछौटेपन र प्रवृत्तिका उदाहरण थिए । गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट पश्चिमतर्फ लाग्ने तम्घास सिमलटारी पुर्कोट प्युठान सडक खण्डमा पर्ने खोलामा नेकपा एमालेका स्थानीय कार्यकर्ता र सडक आयोजनाका कर्मचारीका साथमा थिए पूर्वमन्त्री गोकर्णराज बिष्ट । उक्त सडक खण्डमा पर्ने घमिर खोला, अर्जै खोलालगायतका चार खोलामा पक्की पुल नहुँदा यात्रुले पाएको सास्ती अहिले निर्वाचनको बेला मात्र पत्ता लागेको हैन भनि पूर्वमन्त्रीको आलोचना भयो । यी र यस्ता तस्बिरले हाम्रो राजनैतिक चेतनाको स्तर, ढिलासुस्ती विकास प्रणाली, चुनाव केन्द्रित राजनैतिक परिपाटी र सोझा मतदातामाथिको खिसिट्युरीलाई छर्लङ्ग पार्छन् ।

देश यतिबेला आवधिक निर्वाचनको संघारमा छ । राजनैतिक दल तथा तिनका नेता कार्यकर्ता आफुलाई घरदैलोमा पुर्याइरहेका छन्। चुनावी गतिविधिले सबैलाई भ्याइनभ्याई छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि बनेको पाँचदलीय गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा छ । राजनैतिक स्थायित्वसहितका चुनावी घोषणाभन्दा पनि आआफ्ना पार्टी हितका खातिर फरक विचार समूहको गठजोड सत्तापक्ष र प्रतिपक्ष दुबैमा छ । देशका कैयन निर्वाचन क्षेत्र यस्ता छन् जहाँको उम्मेदवारको हार र जितले राष्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्छ र ती निर्वाचन क्षेत्रका गतिविधि चासोपूर्वक हेरिएका छन् ।

यस्तै मध्येको एक हो गुल्मी निर्वाचन क्षेत्र नं २, जहाँ देशकै चर्चित अनुहारहरू प्रतिस्पर्धामा छन् । राजनैतिक जीवनको लामो समय एउटै पार्टिमा रहेर काम गरेका नेता एक अर्का विरुद्ध मैदानमा होमिएका छन् । प्रतिनिधि सभाको उम्मेदवारका रुपमा नेकपा एमालेका तर्फबाट पार्टी सचिव पूर्वमन्त्री गोकर्ण बिष्ट र नेकपा एकीकृत समाजवादी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री आमनेसामने छन् ।


राजनैतिक पृष्ठभूमि

गुल्मीको पश्चिममा पर्ने विकट भूभाग मध्येको एक साविकको पुर्कोट म्यालपोखरी हालको मदाने गाउँपालिकामा निम्नवर्गीय जनजाति परिवारमा जन्मे हुर्केकी रामकुमारी झाँक्री विद्यार्थी राजनीति हुँदै मन्त्रीसम्म बनेकी हुन् । अनेरास्ववियूको पोखरा महाधिवेशनबाट पहिलो महिला अध्यक्ष बनेकि उनी तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकि थिइन् । नवौं महाधिवेशनबाट पुन केन्द्रीय सदस्यमा निर्वाचित भएकी झाँक्री माधवकुमार नेपाल प्रमुख हुँदा विदेश विभागको सदस्य समेत भएकी थिइन्। २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पश्चात बनेको नेकपाको केन्द्रीय सदस्य भएकी उनी हालको नेकपा एकिकृत समाजवादीको एकमात्र महिला पदाधिकारी हुन्। २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फको सिफारिसमा उनको नाम परेपनि नेतृत्वबाट उनको नाम अस्वीकृत भयो र बन्द सूचीमा अटाउन सकिनन्। २०७४ सालको संसदीय निर्वाचनमा समानुपातिक सांसद हुँदै पार्टी विभाजनपछि पहिलो पटक शहरी विकास मन्त्री बनिन्।

केपी ओलीले संसद विघटन गरेपश्चात भएको प्रतिगमन विरुद्धको आन्दोलनमा राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको भन्दै पक्राउ परेकी उनी नागरिक स्तरबाट भएको व्यापक विरोध पश्चात तत्कालै रिहा भइन। आन्दोलनमा खरो रुपमा उत्रेकी झाँक्री अभिव्यक्ति स्वतन्त्रताका पक्षमा विम्वात्मक कालो टेप मुखबाट हटाएर सभामा दवंग शैलीमा प्रस्तुत भएकी थिइन। परिवर्तनको आवाज मुखर गर्न अग्रणी भूमिका निर्वाह गरेकी साहसी नेताका रुपमा उनी चित्रित भइन् । विशेषतः माओवादी जनयुद्ध र २०६२्०६३ को सातदलीय मोर्चाले थालेको जनआन्दोलनमा उनकै पार्टीका नेता तथा हालका एमाले अध्यक्ष केपी ओलीको समूह उक्त आन्दोलन प्रति अनुदार रहँदै गणतन्त्र विरोधी अभिव्यक्ति दिइरहँदा उनले गणतन्त्रका लागि रगत बगाएकी थिइन्।

नेपाल एकीकरण अघिको बाइसे चौबिसे राज्यअन्तर्गतको इस्मा राज्य हालको इस्मा गाउँपालिका दोहोलीमा सामान्य परिवारमा जन्मेका गोकर्णराज बिष्ट पनि विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। तत्कालीन नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बनेका बिष्टले प्ररायुसंघको अध्यक्ष भएकै बेला संसदीय निर्वाचनको टिकट पाएर कम उमेरमै पहिलो पटक २०५६ सालमा सांसद बने । २०५४ सालमा तत्कालीन एमालेमा आएको फुटका कारण त्यसअघिका सांसद टंकप्रसाद पोखरेल र समकालीन नेता शेषकान्त गौतमको समूह वामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेमा जानु नै बिष्टले टिकट पाउने ढोका खुल्नु थियो । त्यसो त तत्कालीन पार्टी प्रुमख माधवकुमार नेपाल निकट हुनुको ठूलो फाइदा त हुने नै भयो, जुन उनले लिए । एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका समूहको नजिकको नेता भएर पनि उनले केही राजनैतिक सहजता तथा लाभ प्राप्त गरेको प्रष्टै छ ।

पार्टीको आठौं महाधिवेशबाट केन्द्रीय सदस्य निर्वाचित उनी नवौं महाधिवेशनमा सबैभन्दा धेरै मत लिएर सचिवमा निर्वाचित भएका थिए । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन नेकपा माओवादीका चन्द्रबहादुर थापासँग पराजित भएका उनले २०६७ सालमा झलनाथ खनाल नेतृत्वमा बनेको सरकारमा पहिलो पटक उर्जामन्त्री बनेर लामो समयसम्म बक्यौता नतिरेका विभिन्न सरकारी निकाय तथा संस्थानहरुको विद्युत प्रसारणको तार नै काटिदिएका थिए ।

मन्त्रीको शपथ तयारीमा रहेका बेला काठमाडौको सामाखुशीस्थित उनकै घरमा खुकुरी प्रहार भएको थियो। पार्टीकै फरक विचारबाट परिचालित अज्ञात समूहले खुकुरी प्रहार गरेको भनिए पनि ती व्यक्तिहरुको परिचय बाहिर ल्याइएन र कारवाही पनि भएन । २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा भारी मतले निर्वाचित उनी २०७४ सालमा भएको संसदीय निर्वाचनमा नेकपाका तर्फबाट तेश्रो पटकका लागी सांसद बन्दै केपी ओलीले नेतृत्व गरेको सरकारमा दोश्रो पटकको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दै श्रम विभागका शाखा कार्यालयहरु प्रदेशमा स्थापना गर्ने लगायतका प्रशंसनीय कार्य गरेका छन् ।


राष्ट्रिय राजनीतिमा हिरोइज्म जिल्लामा शून्यता

गोकर्णराज बिष्ट र रामकुमारी झाँक्री राष्ट्रिय राजनीतिका चर्चित र आशा गरिएका अनुहार हुन् । उनीहरुको पक्षमा देशव्यापी जनमत छ । दुबैले आफुले सम्हालेको मन्त्रालय सफलतापूर्वक टुंगाएका छन्। पार्टीमा दुबै नेता एकै तहमा छन् तर जिल्लाको अवस्था भने केही फरक छ। मिडियामा उनीहरुको पक्षमा भएको सहानुभूतिभन्दा फरक छ निर्वाचन क्षेत्रको वस्तुगत अवस्था। झाँक्री प्रत्यक्ष आन्दोलनबाट खारिएर आएकी हुनाले उनी स्वभावतः विद्रोही र खरो छिन् । उनी विशेषतः युवा पुस्तामा लोकप्रिय देखिन्छिन् । कतिपय उनका अभिव्यक्ति विवादास्पद बन्ने गरेका छन् । नेकपा एमालेबाट अलग भएको समूह निर्वाचन आयोगमा पार्टी दर्ता गर्न जाँदा उनले खेलेको भूमिका निकै क्रान्तिकारी थियो, तर त्यही समूहका अन्य गोकर्णराज बिष्टलगायतका केही नेता १० बुँदे सहमतिको ड्राफ्टमा द्वैध चरित्रमा पदार्पण हुन पुगे र त्यो मुलभूत रुपमा सूर्य चिन्हको लोभ थियो।

संसद विघटन गलत भन्दै केपी ओलीको राजीनामा मागेका उनीहरुले न पार्टीमा त्यो मुद्दा स्थापित गर्न सके न विघटन ठीक थियो, हामी गलत थियौं भनेर आत्मालोचनानै गर्न सके। केपीले १० बुँदे मस्यौदा तयार गर्ने नेताहरुलाई माफी मागे मात्रै टिकट दिइने भनेर दोहोर्याइरहे र अन्तिमसम्म संसद विघटनका विरुद्ध बोलिरहने भीम रावल र घनश्याम भुसाललाई टिकट दिएनन्। रामकुमारी झाँक्री यी मामिलामा सपाट देखिइन्।

संगठन छैन, चुनाव चिन्ह नयाँ हो भन्ने थाहा हुँदाहुँदै उनले गुल्मी २ मा उम्मेदवारी घोषणा गरेकी हुन्। गठबन्धनको साझा उम्मेदवारको रुपमा उनी चुनावी मैदानमा गए पनि भुईँ तहसम्म उनको सम्पर्क स्थापित भएको छैन र यसलाई नै एमालेले आफ्नो चुनावी नारा बनाइरहेको छ । तर झाँक्रीले पार्टीभित्र गोकर्ण बिष्टका कारण पिल्सिएको र उनले नै भौगोलिक राजनीतिबाट बञ्चित गरेको कुरा विभिन्न समयमा भन्दै आइरहेकि थिइन। आनुपातिक हिसाबले संगठन र जनाधारविहीन समाजवादीको स्थिति एमालेको स्थितिभन्दा हाललाई जिल्लामा निकै कमजोर तुलना गर्न लायक नै छैन ।

स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँपालिकाको नेतृत्वबाट बिष्ट बाहिरिएका हुन् । उनको निर्वाचन क्षेत्रको मुसिकोट नगरपालिका मात्रै एमालेले जितेको छ । अघिल्लो निर्वाचनको मदाने, मालिका, इस्मा गाउँपालिका, रेसुङ्गा नगरपालिका र जिल्ला समन्वय समितिबाट हात धुनु परेको छ। नागरिकस्तरबाट विरलै हुने अभिनन्दन थापेका गोकर्णको अर्को रोचक कुरा के छ भने प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा धेरै गयल हुने सांसद मध्येका उनी पनि एक हुन्।

बिष्ट सरल छन्, शालिन छन् तर उनीबाट जिल्लाभित्रकै एमाले नेता कार्यकर्ता ठूलो संख्यामा रुष्ट छन्। उनी बाहिर जति सहज र नरम देखिन्छन, भित्र त्यतिनै निरंकुश र कठोर स्वभावका छन् भनेर पार्टीभित्र आलोचना पनि हुने गरेको छ । आलोचना सहन नसक्ने र प्रशंसा मात्रै सुन्न लालायित नेताका रुपमा पार्टीभित्रै उनको परिचय बनिरहेको छ ।


सकसमा एमाले र बिष्ट

प्रतीनिधि सभाको निर्वाचन मार्फत चुनिने प्रतीनिधिले देशका लागि आवश्यक पर्ने नियम कानुन बनाउने र चुनावी घोषणा बमोजिम आफ्नो बलियो उपस्थिति भए सरकार बनाएर ती योजनाहरुको कार्यान्वयन गराउने भूमिका भए पनि संघीय संसदका उम्मेदवारले स्थानीय तहाका उम्मेदवारलेझैं विकासे फेहरिस्त बाँड्छन् तर ती यावत कारणहरुले पुरा हुँदैनन् । फलस्वरुप निर्वाचनमा जे बिक्री हुन्छ त्यहि बिक्री गरिन्छ । नेता बिष्ट मिठो बोल्छन्, जो सँग पनि सहजै घुलमिल हुन्छन्, सरल छन् तर २०५६ यताका हरेक निर्वाचन ९२०६४ बाहेक० उनैले जितेपनि जिल्लामा गर्व गर्न लायक केही पनि छैन ।

जनताका आधारभूत शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी र रोजगारीको अवस्था नाजुक छ त्यसैले उनको बोलीले मात्र अब मत नआउने कतिपय एमालेका नेताहरुको मत छ। उनको सरल पाटोभित्र एमालेले सकसपूर्ण स्थिति झेलिरहेको छ। दुई दशकभन्दा धेरै समयबाट एमालेको सम्पूर्ण नेतृत्व विकास रोकिएको छ। उनका समकालीन नेता शेषकान्त गौतमले भर्खरै बिष्टमाथि विभिन्न प्रश्नहरु उठाउँदै पार्टी छाडेर झाँक्रीलाई समर्थन गरेका छन्। पार्टीभित्रको नेतृत्व विकासक्रम पूर्ण रुपमा भत्किएको छ ।

यो निर्वाचन बिष्टले जिते भने त्यो झनै ध्वस्त हुने देखिन्छ । संगठनात्मक आधार राम्रो भएको एमालेले कुनै असामान्य परिस्थिति नबन्दासम्म हालका ५७ वर्षिय विष्टलाई अझै दुई कार्यकालभन्दा धेरै टिकट स्वतः सुम्पनेछ र नेता कार्यकर्ताको व्यवस्थापन नहुँदा पार्टी मृत जस्तै बन्नेछ।

एमाले अहिले देशव्यापी रुपमा इतिहासकै कठिन स्थितिमा देखिन्छ। लगभग दुई तिहाई बहुमतको सघन सरकारबाट बाहिरिएपछि इन्तु न चिन्तुको अवस्था रहेको पार्टि झन् झन् अधोगतिको बाटोमा छ। फरक विचार समूहप्रति निकै आक्रामक नेतृत्वले चलाउने निषेधको डण्डा तलैसम्म झरेको छ। झलनाथ–माधव समूहमा रहेर केपी ओलीको राजीनामा माग्न गठबन्धनलाई सघाएका बिष्टलाई जिल्लामा रहेको ओली समूहका नेता कार्यकर्ताको साथ कठिन छ । स्थानीय तहको निर्वाचनले पनि उनीप्रति पालिकास्तरका नेताहरुमा देखिएको असन्तुष्टिले त्यो संकेत गर्दछ।

उनी समर्थित पालिकाका उम्मेदवारहरुले जित्न सकिने ठाउँमा पनि पराजय भोगेका छन्। इतर समूहको असन्तुष्टिलाई उनका विपक्षी उम्मेदवारले सम्बोधन गर्न सकेको खण्डमा पनि बिष्लाई यो चुनाव थप चुनौतीपूर्ण रहने निश्चित छ।


रणनैतिक दाउमा काँग्रेस

बहुदल स्थापनापछिको २०४८ सालको पहिलो आमनिर्वाचनमा काँग्रेसका रुद्रमणि शर्मा भण्डारीले गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ हालको २ मा विजय प्राप्त गरेका थिए । त्यसयता काँग्रेस जितविहीन छ। काँग्रेसका लागि यो निर्वाचन निकै महत्वपूर्ण छ । नेपाली काँग्रेस गर या मरको स्थितिमा चुनावमा होमिएको छ। प्रतिनिधि सभातर्फ कलम चिन्हका रामकुमारीलाई मतदान गर्नुपर्ने काँग्रेसले प्रदेश सभातर्फ हँसिया हथौडा चिन्हका बुद्धि जिसीलाई र रुख चिन्हका पूर्व जिल्ला सभापती भुवन श्रेष्ठलाई मतदान गर्नेछ।

गठबन्धनले अहिले चुनाव नजितेको खण्डमा मुलभूत रुपमा गुल्मी २ मा काँग्रेसको राजनीति समाप्त हुनेछ तसर्थ जसरी पनि गठबन्धनलाई चुनावमा जीत दिलाउनुपर्ने दवावमा काँग्रेस देखिन्छ। झाँक्रीले चुनाव जितेको खण्डमा आगामी चुनावमा काँग्रेसलाई सहज हुनेछ किनकि आगामी चुनावसम्म यो गठबन्धन नरहन पनि सक्छ र एक्लाएक्लै चुनावमा गए पनि संगठन नभएको एकीकृत समाजवादीका उम्मेदवारलाई हराउन उसलाई सहज हुनेछ । काँग्रेस दुइ दशकपछि आफ्नो विजयको झण्डा फहराउन आतुर छ।

मार्क्सवाद आफैंमा वैज्ञानिक कारणहरुको योगफल हो। आफूलाई मार्क्सवादी विचारबाट दीक्षित ठान्ने गोकर्णराज बिष्ट र रामकुमारी झाँक्रीको हार र जीतले पनि त्यस कुराको पुष्टि गर्नेछ। मार्क्सवाद र विज्ञानले इतिहासका हरेक यथास्थितिमा क्रमभंगता खोज्दै परिवर्तन अंगिकार गर्छ र आजको विज्ञान प्रविधिको युग पनि तिनै क्रमभंगताको उपज हो।

कुनै पनि संघ संस्था, कार्यालय, विभाग, संगठन, क्षेत्र या राष्ट्रको प्रमुख वा प्रतिनिधी अपवाद या असामान्य परिस्थिति बाहेक दुई कार्यकालभन्दा बढि दोहोरियो भने ती तत् तत् क्षेत्रको प्रमुख वा प्रतिनिधि या त निस्प्रभावी हुन्छ या त निरंकुश। अतः गुल्मी निर्वाचन क्षेत्र नं २ ले परिवर्तन अंगिकार गरी एक सीमान्तकृत जनजाति समूहको क्रान्तिकारी महिला जनप्रतिनिधि छान्नेछ या यथास्थितिका पक्षधर गोकर्णराज बिष्ट छान्नेछ त्यो १० दिनपछि प्रष्ट हुनेछ ।

Twitter: @kamalshishir3

टिप्पणीहरू