इच्छाराजकी श्रीमतीलाई छुटाउन बिशेष खेल

इच्छाराजकी श्रीमतीलाई छुटाउन बिशेष खेल

ठगी तथा संगठित अपराधमा जेल चलान भएका बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्यलाई जेलबाट निकाल्ने गतिलो प्रपञ्च रचिएको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको अरबौं रकम ठगीमा थुनिएका इच्छाराज तामाङ र श्रीमती सिर्जना शाक्य जिल्ला अदालत काठमाडौंको आदेशपछि जेल पुगेका थिए । अहिले उनैलाई धरौटीमा छाड्न आदेश भएको छ ।

शाक्यलाई काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार सिर्जना गत साउनमा समातिएकी थिइन् । उनी सहकारीको तत्कालीन लेखा समिति सदस्य हुन् ।

अघिल्लो वर्ष कात्तिक १७ गते तामाङसहित १२ जना प्रतिवादीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । इच्छाराज र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखेपछि अरु १० जना धरौटीमा छुटेका थिए ।

त्यसपछि इच्छाराजकी श्रीमती शाक्यलाई प्रहरीले पक्राउ परेर जिल्ला अदालतमा पेश गर्यो । अदालतको आदेशमा उनी जेल गइन् । उनै सिर्जनालाई छुटाउन उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेश ढकालको १४ नम्बर इजलासले विभिन्न आधार र कारण देखाउँदै शुक्रबार ३५ लाख धरौटीको आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी सिर्जनाका शाक्यको हकमा विचार गर्दा यी प्रतिवादीको नाउँमा विभिन्न खाता र जग्गा रहेको भन्ने देखिएता पनि सिभिल सहकारी संस्थाको सञ्चालकको हैसियतमा यी प्रतिवादीले कार्य गरेको भन्ने मिसिलबाट देखिँदैन ।’ संगठित ठगी र सम्पत्ति शुद्धिकरणको अभियोग लागेका अभियुक्तको बारेमा आदेशमा भनिएको छ, ‘सिभिल सहकारी संस्थाको लेखा समिति सदस्यको रुपमा यी प्रतिवादी साधारण सभामा उपस्थित भएको भन्नेसम्मको अवस्था छ । तथापि लेखा समितिको हैसियतमा निजले कुनै निर्णय वा सिफारिस गरेको माइन्युट मिसिलबाट देखिँदैन । अनुसन्धानको क्रममा मौकामा बयान गर्ने सहप्रतिवादीहरुले समेत यी प्रतिवादीलाई ठगीको कसुरमा पोलेको अवस्था पनि देखिँदैन ।’

जिल्ला अदालतको मिति २०७९ साउन ५ गतेको आदेशलाई बेरितको ठहर गर्दै उच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशद्वयले इच्छाराजकी कागजी डिभोर्स श्रीमतीको पक्षमा उल्लेख गर्दै दिनुभएको आदेशमा भनिएको छ, ‘अब प्रतिवादीविरुद्ध लगाइएको अभियोग दाबीमा उल्लेखित कसूरको प्रकृति,चरित्र तथा यी प्रतिवादीसँग मुद्दाको पुर्पक्षको क्रममा धरौटी माग गर्नु उपयुक्त हुने देखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम निजसँग धरौटीवापत ३५ लाख रुपैयाँ नगद वा सो बराबरको जेथा वा बैंक जमानत माग गरी सो निजले दिएमा निजलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्नू ।’

उक्त मुद्दालाई नजिकबाट हेरिरहेका एक जना वरिष्ठ कानुन व्यवसायी भन्छन्, ‘श्रीमानहरुले फेस सेभिङको लागि निक्षेपकर्ताको रकम फिर्ता गराउने कार्ययोजना र तालिका बनाएर बुझाउन समय दिइएको छ । त्यसका लागि विभिन्न आठ वटा बुँदा उल्लेख छ । यो भनेको मेलमिलापको सिद्धान्त हो । तर संगठित ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दामा मेलिमिलाप हुनै सक्दैन । यो आँखामा छारो हाल्ने प्रपञ्च हो ।’

यसअघि १५ सय बढी सर्वसाधारणको निक्षेप नतिरी घोटाला गरेका तामाङ,उनकी श्रीमती शाक्य,जेठान केशवलाल श्रेष्ठलगायत अन्य एक दर्जन अभियुक्तहरुले छ अर्ब बढीको रकम तिर्ने कुनै ग्यारेण्टी देखिँदैन । आठ बुँदे तालिकालाई ‘प्रस्तुत मुद्दामा हुने ठहरमा कुनै प्रतिकूल असर नपर्ने वा परेको नमानिने गरी यो इजलासले देहायको आदेशसमेत जारी गर्दछ,’ भनिएको छ ।

यसअघि सोही मुद्दामा सेटिङ मिलाएको आरोपमा नेपाल बारका तत्कालीन कोषाध्यक्षसमेत रहेका ‘बिचौलिया वकिल’ रुद्र पोखरेलले मुद्दा मिलाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

सिभिल सेभिङ एवम् क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको अर्बौं ठगी गरेको आरोपमा पुर्पक्षका लागि नौ महिनादेखि जेलमा रहेका इच्छाराज तामाङलाई छुटाउन एमालेनिकट वकिलहरुले चलखेल गरेको अडियो सार्वजनिक भएको थियो ।

बचतकर्ताहरूको रकम हिनामिना गरेको आरोपमा इच्छाराजसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर मुद्दा चलाएको थियो । गत वर्षको पुसमा विशेष अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

टिप्पणीहरू