चुनाव भाँड्न खोज्ने गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष फरार

चुनाव भाँड्न खोज्ने गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष फरार

मत माग्न घरदैलो गर्न नार्पाभूमि गाउँपालिकाको नार पुगेका प्रतिनिधि सभाका उम्मेद्वार टेकबहादुर गुरुङमाथि भएको आक्रमणमा संलग्नहरुलाई प्रहरीले अझै पक्रन सकेको छैन । गुरुङ बसेको नार गेस्ट हाउसमा गत शुक्रबार राति आक्रमण गरेका नार्पाभूमी गाउँपालिकाका उपाध्यक्ष झ्याप्ले भन्ने मेङमर फुञ्चोक लामा र सोही गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष फुञ्चोक वाङ्गे लामालाई पक्राउ गर्न मनाङ प्रहरी असफल देखिएको छ । 

त्यो दिन राति नेपाली काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ बास बसेको नार गेष्ट हाउसमा ढुंगामुढा, लठ्ठीसहित उपाध्यक्ष फुञ्चो लामाको नेतृत्वमा गएको १५–१६ जनाले आक्रमण गर्दा होटल सञ्चालकसमेत रहेका वडा नं. १ का वडा अध्यक्ष फूर्पा ठेले लामा सख्त घाइते भएका थिए । उनको टाउकोमा २२ टाँका लगाइएको छ । थप उपचारको निम्ति उनीसहित अर्का एकलाई हेलिकप्टर मार्फत् ग्राण्डी अस्पताल काठमाडौं लगि उपचाररत छन् । अर्का घाइतेलाई आईसीयुमा राखिएको छ । 

निर्वाचनलाई शान्तीपूर्ण रुपमा सफल पार्न खटिएका प्रहरी, सशस्त्र प्रहरी बलले आक्रमणकारी कसैलाई पक्राउ गर्न सकेको छैन । नार र मेतामा प्रहरी चौकी रहेको छ भने नारमै सशस्त्र प्रहरीको एक टोली क्याम्प खडा गरेर बसेको छ तर घटनामा संलग्न कसैलाई पक्राउ गर्न नसक्नुलाई बिडम्बना मानिएको छ । 

आक्रमण घटनाको नेतृत्व गर्ने नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष मेङमर फुञ्चोक लामा र वडा नं. २ का वडा अध्यक्ष फुञ्चोक वाङ्गे लामा विगत चार दिनदेखि फरार मनाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले बताए । जनप्रतिनिधि नै फरार रहँदा समेत पक्राउ गर्न नसक्ने प्रहरीको असक्षमताले आम नागरिकमा सुरक्षा चिन्ता बढाएको छ भने आम निर्वाचन शान्तिपूर्ण हुनेमा आशंका बढेको छ । 

मनाङका नेपाली काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङलाई मार्ने नियतले आएको एमाले नेतृत्वको गुण्डा समूहविरुद्ध मनाङ प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । ज्यान मार्ने उद्योगमा सक्रिय रहेकालाई प्रहरीले कहिले पक्रेला त भन्ने हाम्रो जिज्ञासामा मनाङ प्रहरी प्रमुख केसी भन्छन्, ‘खोजी कार्य जारी छ, सिडिआर रिपोर्ट आएपछि पक्राउ पर्छन् ।’

मनाङमा अघिल्लो संसदीय निर्वाचनमा एमाले विजयी भएको थियो । यस पटक काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङले जित्ने प्रवल सम्भावनासहित जनलहर देखेपछि एमाले उम्मेद्वारकै निर्देशनमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष समेतलाई परिचालन गरेको हुन सक्ने नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले दाबी गरेका छन् ।

-यदुनाथ बञ्जारा

टिप्पणीहरू