जनप्रतिनिधिमाथि बालुवा चोरेको आरोप

जनप्रतिनिधिमाथि बालुवा चोरेको आरोप

म्याग्दीको मालिका गाउँपालिकाका प्रतिनिधिमाथि बालुवा चोरेको आरोप लागेको छ । गाउँपालिकाका प्रवक्ता एवम् गाउँ कार्यपालिकाका सदस्य अनुप गौचनसहित अन्य दुई जना बालुवा चोरीको आरोपमा मुछिएका हुन् । 

गाउँपालिकाले जिल्ला समन्वय समितिलाई पत्र लेख्दै गौचनसहित म्याग्दी क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका रेशमबहादुर जुग्जाली, स्थानीय हेमबहादुर जुग्जालीलाई कारबाहीको निम्ति अनुरोध गरेको छ । 

के थियो घटना ? 

गाउँ कार्यपालिकाको बैठकले असार, साउन र भदौमा कुनै पनि नदीजन्य पदार्थ ननिकाल्ने निर्णय गरेको थियो । तर, साउनमा बालुवा निकालेको पाइएपछि मालिकाका स्थानीयले त्यसको विरोध गरे । खारा बगर, फेदीघाट, सिरेदी, सावटालगायत विभिन्न स्थानबाट अवैध रुपमा बालुवा, ढुंगा दोहन गरेर थुपारिएको अवस्थामा फेला परेको थियो । 

स्थानीयले गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनमाथि नदीजन्य पदार्थ उत्खनन् गरेको आरोप लगाए । स्थानीयले विरोध जनाएपछि गाउँपालिकाले निरीक्षण अघि बढायो । गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, प्राविधिक र प्रहरीसहितको टोली अनुगमनका लागि घटनास्थल पुग्यो । टोली बालुवाको परिमाण नापजाँच गरेर फर्किएको बताइन्छ ।

गाउँपालिकाले गत भदौ ३० गते सार्वजनिक गरेको सूचनामा सात दिनभित्र बालुवा उत्खनन् गर्ने व्यक्तिलाई सम्पर्कमा आउन भनेको थियो । प्रशासनिक दण्ड र प्राविधिकबाट नापजाँच गर्दा आएको परिमाण बराबरको रकम जिल्लाको दररेटअनुसार हिसाब गरी राजस्व कार्यालयमा बुझाउन सूचित गराइएको थियो । 

त्यसपछि पनि कोही सम्पर्कमा नआएपछि जिल्ला समन्वय समितिले गत असोज १४ गते १५ दिनको लिलामी सूचना प्रकाशित गर्यो । उक्त अवधिभित्र एउटा मात्र फर्मले म्याग्दी खोला किनार, भारबाङ्ग खण्डको १२ हजार ३१२ दशमलव ६४५ घनमिटर लिलाम गरिने बालुुवा खरिदको निम्ति आवेदन पेश गर्यो । टेण्डर आह्वानपछि पनि घटनास्थलबाट बालुवा चोरी भएको खबर आएपछि सबै चकित भएका हुन् ।  गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले पुनः घटनास्थलमा पुगेर निरीक्षण गर्दा आधा बालुवा चोरी भइसकेको थियो । खोज्ने क्रममा चोरी निकासी भएको बालुवा डाँडाखेत सबस्टेशनमा भेटिएको हो । 

स्थानीयले घटनास्थलमा रेशम जुग्जालीको डोजर र ट्रयाक्टर देखेको बताएका छन् । अर्का, हेमबहादुर जुग्जालीलाई पालिकामा बोलाएर सोधपुछ गर्दा उनले आफूसहित रेशम र अनुपको संलग्नता रहेको स्वीकारेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवीले दाबी गरिन् । प्रवक्ता अनुपको पनि डोजर त्यहिँ रहेको उनले जानकारी दिइन् । 

‘स्थानीयले बालुवा चोरी निकासीमा हेमबहादुरको संलग्नता रहेको बताएका थिए । रेशमको ट्रयाक्टर र डोजर पनि घटनास्थलमा देखिएको जानकारी गराएका थिए’, उनले भनिन्, ‘हामीले हेमबहादुरलाई कार्यालयमा बोलाएर सोधपुछ गर्यौं । उनले आफूसहित रेशम र अनुप पनि उक्त कार्यमा संलग्न रहेको बताएपछि कारबाही अघि बढाएका हौं ।’

उपाध्यक्ष लक्ष्मीदेवीले अगाडि भनिन्, ‘पहिले सूचना निकाल्दा सम्पर्कमा आएको भए कारबाही गर्नै पर्दैनथ्यो ।’ गाउँकार्यपालिका सदस्यसमेत उक्त कार्यमा मुछिएपछि सबैजना लज्जास्पद हुनुपरेको उनको भनाइ छ । ‘यस्तो व्यक्तिले कसरी कार्यपालिका चलाउँछ ?’ उनले आक्रोश व्यक्त गरिन् । 

पत्र हातमा परेको छैन : जिल्ला समन्वय समिति 

जिल्ला समन्वय समितिका अध्यक्ष राजकुमार थापामगरले अहिलेसम्म आफ्नो हातमा पत्र नपरेको जानकारी दिए । उनले भने, ‘पत्र हातमा परेको छैन । पत्र पाए पनि कसूर पुष्टि नहुँदासम्म कारबाही गर्न मिल्दैन ।’ 

गाउँपालिकाले आरोपितलाई बालुवासहित रंगेहात नपक्रेको हुनाले कसूर पुष्टि नहुँदासम्म कारबाही प्रक्रिया अगाडि बढाउन नमिल्ने उनको भनाइ छ । रातदिन प्रहरी राखेर बालुवा रेखदेख गर्न गाउँपालिकालाई सुझाव दिँदा पनि अटेर गरेको उनी बताउँछन् । 

‘मैले प्रहरी राख्न अनुरोध गरे पनि मान्नुभएन् । एक दुई दिन छड्के जाँच गरौं पनि भनेँ । तर मेरो सुझाव सुने नसुन्यै गर्नुभयो’, अध्यक्ष थापामगरले गुनासो पोखे । आरोपितहरुमाथिको कसूर पुष्टि भएमा जिससले कानूनी प्रक्रिया अघि बढाउने उनले बताए । 

त्यत्तिकै आरोप लगाइयो : प्रवक्ता गौचन 

गाउँकार्यपालिका सदस्य एवम् गाउँपालिकाका प्रवक्ता अनुप गौचनले कुनै प्रमाणबिना आफूमाथि आरोप लगाइएको दाबी गरेका छन् । उनले आक्रोशित हुँदै भने, ‘मैले बालुवा चोरी गरेको के प्रमाण छ ? जे मन लाग्यो त्यही आरोप लगाउन पाइन्छ ? मैले फोन गरेको गर्यै छु तर अध्यक्ष र उपाध्यक्ष दुवैले फोन उठाउनुभएको छैन ।’

साथै, उनले चुनावको मुखमा आएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राजनीतिक चलखेल गरेको आरोप लगाए । उनी नेकपा एकीकृत समाजवादी पार्टीको कार्यकर्ता रहेको र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएकाले त्यस्तो आरोप लगाइएको बताए ।

टिप्पणीहरू