कलाकार परिवारको दर्दनाक गोलीकाण्ड

कलाकार परिवारको दर्दनाक गोलीकाण्ड

मिट्टीमें मिल गया है तेरा नाम देख ले
छोटी सी एक भूलका अञ्जाम देख ले
नजर उठ्ने से पहले ही झुका लेती तो अच्छा था 
तु अपने आप को परदा बना लेती तो अच्छा था
तेरे होंठों की ये सुखी तेरे चेहरे की रौनक है 
ये सुर्खी माँग में अपने सजा लेती तो अच्छा था

तेरे शाने पे लहराते हुए आँचलका क्या कहना 
इसी आँचलसे इक घुँघट बना लेती तो अच्छा था

जो काँटोंसे उलझकर फूल तोडे भी तो क्या तोडे 
समझकर सोचकर दामन बचा लेती तो अच्छा था

इधर रंगीनियाँ थीं और उधर माँ–बाप की खुशियाँ 
उन्हें खुश करके तु उनकी दुआ लेती तो अच्छा था
मिट्टीमें मिल गया है तेरा नाम देख ले‘.

सन् १९९० अक्टोबर २१ को दिन । मुम्बईको कार्टर रोडस्थित घरमा राति कमलको २० औं जन्मदिनको पार्टी चल्दै थियो । कमल र साथीहरू सबैजना पार्टीको मजा उठाउँदै मदिरामा झुमिरहेका थिए, नाचिरहेका थिए । मुनिको तलाको कोठाबाट शुरूमा ठुल्ठूलो स्वरमा झगडा गरेको र केही छिनपछि नै एक्कासि गोली चलेको आवाज सुनियो । रमाइरहेका सबैको सातोपुत्लो उड्यो । सबैजना दौडेर तल पुगे । कमलकी आमा गोली लागेर भुइँमा लडिसकेकी थिइन् र छातीबाट रगत बगिरहेको थियो । कमलको बाबु पेस्तोल ताकेर उभिरहेका थिए र फेरि पनि पत्नीलाई गोली दाग्न तम्सिएका थिए । यतिञ्जेलमा रोइरहेकी कमलकी बहिनी नम्रता अघि बढिन् र ‘मेरी आमालाई नमार्नुस्’ भन्न थालिन् । रिसले चुर बाबुचाहिँले फेरि अर्को गोली दागे । नम्रता पनि आमाको शरीरमाथि लड्न पुगिन् । कमलले बाबुलाई रोक्न खोजे, उनीमाथि पनि गोली चल्यो । घाइतेजनलाई तत्काल अस्पताल लगियो । तीमध्येका कमल मात्र घर फर्कन पाए । गोली काखीमा छोएर मात्र गएकाले बाँच्न सफल भए । अस्पतालको बेडमा हुँदै उनले अर्को दुःखद समाचार सुने कि पत्नी र छोराछोरीलाई गोली प्रहार गरेका बाबु आफैँलाई गोली हानेर मरेछन् ! जन्मोत्सवको रमझम जीवनमा बिर्सनै नसक्ने दुःखदायी घटनामा परिणत भएकै कारण कमल आज ५१ वर्षको भैसक्दा पनि बितेको ३१ वर्षमा कहिल्यै फेरि जन्मोत्सव मनाएनन् ।

चलचित्रको दृश्यजस्तो लाग्ने यो घटना चलचित्रको भने थिएन, चलचित्रका कलाकारसित सम्बन्धित भने थियो । कमल उर्फ कमल सदाना उनै हुन् सन् १९९२ मा प्रदर्शित हिन्दी चलचित्र ‘बेखुदी’ का नायक । नायिका थिइन् – काजोल । कमल र काजोल दुबैको पहिलो चलचित्र हो । कमलले पछि धेरै फिल्म खेले, चलचित्र निर्देशन र निर्माण गरे । काजोल त बलिउडको सफल अभिनेत्री नै बनिन् । कमलकी आमा ६० को दशककी सफल अभिनेत्री सइदा खान थिइन् भने बाबु बृज सदाना निर्माता, निर्देशक ।  उल्लिखित गीत सन् १९६१ मा प्रदर्शित चलचित्र ‘मोडर्न गर्ल’ को हो, जुन गीत नायिका सइदामाथि फिल्मांकन गरिएको थियो । चलचित्रमा नायक थिए – उक्त समयका सफल अभिनेता प्रदीपकुमार । सइदाको यो तेश्रो फिल्म थियो । अभिनेता कमल सदानाका अनुसार पछिल्लो समय बृज र सइदा दिनहुँजस्तो झगडा गर्न थालेका थिए र त्यस दिन बिहान पनि दुबै जनाले ठूलै झगडा गरेका थिए । पति÷पत्नीबीच हुने झगडाको वास्तविक कारण भने अहिलेसम्म रहस्यमय नै छ ।

सइदाले छोटो समयमा कूल १७ वटा चलचित्रमा अभिनय गर्न भ्याएकी थिइन् । बृज पत्नीमाथि शंकाको नजरले हेर्थे । सइदा बृजसँग बिहे गर्नु अगाडि कुमारीआमा बनेकी थिइन् । गर्भवती बनेपछि प्रेमिका फरार भए र सइदाले छोरी जन्माइन् । छोरीलाई आमा अनवरी बेगम, जो आफँै पनि एक जमानाका अभिनेत्री थिइन्, ले पाल्न शुरु गरिन् । पछि शगुफ्ता रफिक जसलाई सइदाले आफ्नी बहिनी बताउने गरेकी थिइन् वास्तबमा उनी नै सइदाले बिहे अगाडि जन्माएकी छोरी हुन् भन्ने दाबी बृजले गर्न थाले । जीविकोपार्जनार्थ १७ वर्षकै उमेरदेखि वेश्यावृत्ति गर्न थालेकी शगुफ्ता पछि आशिकी–२, आवारापन, राज–२ र –३, मर्डर–२, जिस्म–२ जस्ता दर्जनौं सफल चलचित्रका कथाकार बनिन् । उनी आफँै आफ्नी आमाको पहिचान गर्न आजपर्यन्त असमर्थ छिन् । भन्छिन्, ‘मलाइ अनवरी बेगमले पालेकी हुन् त्यसैले उनी नै मेरी आमा हुन् । तर, उनले मलाई जन्माएको हैन भन्ने मलाई राम्रोसित थाहा छ । धेरैले मैले दिदी मान्दै आएकी अभिनेत्री सइदा खानकी छोरी हुन् भन्ने गर्छन् । यसो भन्नेहरूका अनुसार म उनकी नाजायज सन्तान हुँ । बृज साहेबसँग बिहे गर्नुअगाडि उनलाई गर्भवती बनाएर प्रेमी भागेका थिए रे ! कोही भन्छन् मेरा बाबु एकजना धनी वकिल हुन् ! अर्कोथरीका अनुसार मेरा आमाबाबु सुकुम्बासी थिए रे, अनि उनीहरूले मलाई जन्मनासाथ कतै फालेका र बेवारिस अवस्थामै अनवरी बेगमले उठाएर ल्याएको रे ! तर, धेरैको भनाइ छ मेरो अनुहार सइदा आपा(दिदी) सित मिल्छ, स्वर पनि ठ्याक्कै उस्तै छ ।’

अनवरी बेगमले दोश्रो बिहे मुहमद रफिकसँग गरेकी थिइन्, त्यसैले सगुफ्ताको पछाडि रफिक जोडिएको हो । सगुफ्ताका अनुसार उनी टोलका हरामी केटी थिइन् । प्रायः समय उनीसँग लफंगा केटाहरू हुन्थे । अश्लील हाउभाउ गरेर जिस्क्याउँथे, उनी पनि त्यसरी नै जिस्किन्थिन् । केटाहरूसरह झैझगडा गरेर हिँड्थिन् । एकदिन सइदाको फिल्म इण्डस्ट्रिकै एकजना साथीले भने, ‘मेरी साथी सइदाकी छोरी यति हरामी हुनै सक्दिन ।’ उनले सानैमा धुमपान गर्न र मदिरा पिउन सिकिन् । कत्थक नृत्य सिकिन् र १२ वर्षकै उमेरमा धनीहरूको पार्टीमा नाच्न थालिन् । ती पार्टीहरूमा अरु वेश्या पनि हुन्थे । मन्त्रीगण, धनी पुरुष, ठूला सरकारी कर्मचारी सम्मिलित त्यस्ता कार्यक्रममा उनीहरूले उनको संवेदनशील अंग छुने गर्थे र बदलामा उनको लुगाभित्र नोट कोचिदिन्थे । यस्तैमा १७ वर्ष पुग्दानपुग्दै एक जना अपरिचित व्यक्तिबाट उनले कौमार्य गुमाइन् । त्यसपछि यो सिलसिला चल्दै गयो, एक दुई गर्दै सयौंले उनको देह चाखे । यो पेशाबाट उनले मनग्य पैसा कमाइन् । मासु खान महिनौं दिन कुर्नुपर्ने उनीहरूले दिनहुँ स्वादिष्ट खाने कुरा खान पाए । उनले र अनवरीले टन्न गहना लगाउन थाले । २७ वर्षको हुँदा एकजना साथीको सल्लाहमा मुम्बर्ई भन्दा १० गुणा पैसा कमाउने लोभमा दुबई पुगिन् । त्यहाँको नाइट क्लबमा नृत्य गरेर एक रातमै ५ हजार कमाउन थालिन् । यसबीच सन् १९९९ मा अनवरी बेगमको निधन भयो । सगुफ्ता स्वदेश फर्किइन् । दुबई बस्दा फिलिपिनो र रुसी युवतीसित संगत थियो । उनी उनीहरूको र आफ्नै कथाब्यथामा आधारित भएर सिनेमाको कथा लेख्न चाहन्थिन् । यसबीच निर्देशक महेश भट्टसँग परिचय भयो । दुबैको मेलजोल खुब बढ्यो । भट्टकै आग्रहमा फिल्मको कथा लेख्न थालिन् ।

सगुफ्ता सइदा र बृजको घरमा बस्न थालेकी थिइन् । बृज उनको सक्कली पहिचान जान्न चाहन्थे र उनलाई मन पराउँदैनथे । सगुफ्ताको बिगतको चरित्रलाई लिएर सइदासँग प्रायः विवाद गर्थे । हुँदाहुँदा सइदाको चरित्रमाथि नै आशंका गर्न थाले । आफूले बनाएका चलचित्र एकपछि अर्को असफल बन्न गएको दोष पनि पत्नीमाथि नै लगाउन थाले । सम्भवतः पत्नी सइदा र छोरी नम्रताको हत्या प्रकरण जन्मेको कारण यही हुनुपर्छ भन्छन् नजिकबाट चिन्नेहरू । सइदाले सगुफ्ताकै काखमा देहत्याग गरेकी थिइन् । अस्पतालको बाटोमा जाँदै उनले किन हो सगुफ्तालाई यसो भनिन्, ‘नम्रता नबाँच्नुमै उसको कल्याण छ ।’

निधन हुँदा सइदा ५१ वर्षकी थिइन् । सानैदेखि अभिनेत्री बन्ने सोख पालेकी उनी आमासँगै कोलकाताबाट मुम्बई पुगिन् । त्यहाँ उनलाई मेरे महबुब, संघर्ष, लैलामजनुँजस्ता सफल फिल्मका निर्देशक एचएस रावेलले चलचित्र काँचकी गुडियामा खेलाए । फिल्मका हिरो थिए मनोजकुमार । फेरि मनोजकुमारसँगै ‘हनिमुन’मा खेलिन् । त्यसपछि किशोरकुमारको हिरोइन बनेर ‘अपना हाथ जगन्नाथ’ खेलिन् । यी चलचित्रले रातारात सफल हिरोइन् बनाइदिएपछि एकपछि अर्को फिल्म पाइन्, राजकुमार, फिरोज खान, विश्वजित, अजित आदिको हिरोइन् बनिन् । पछि भने उनी अभिनीत फिल्म चलेन । बी र सी ग्रेडको चलचित्रमा खेल्न थालिन् । चलचित्रमा काम गर्ने दौरानमै उनको चोरी मेरा काम, बिक्टोरिया नं २०३ जस्ता दर्जनौं सफल चलचित्रका निर्माता, निर्देशक बृज सदानासित प्रेम भयो । दुबैले बिहे पनि गरे । सइदा मुसलमान थिइन् । बिहेपछि हिन्दू बनेकी हुन् ।
 

टिप्पणीहरू