माननीय कमरेडको यौनकाण्ड फेरि छताछुल्ल

माननीय कमरेडको यौनकाण्ड फेरि छताछुल्ल

धनकुटाको चानुवा गाविसका पूर्वअध्यक्ष तथा एमाले प्रदेश १ का सदस्य दीपक बुढाथोकीले २०७७ माघ २५ गते फेसबुकमा लेखेको एउटा स्टाटसले पाउनुसम्म चर्चा पायो । नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद राजेन्द्र राईले परस्त्रीसँग लागेर कस्तो हर्कत गरिरहेका छन् भन्नेबारे बसमा यात्रा गरिरहेका एक सर्वसाधारणले गरेको टिप्पणीलाई उल्लेख गरी लेखिएको स्टाटसमा २०६५ सालमा राई एक महिलासँग अनैतिक हर्कत गर्दागर्दै तिनै महिलाका श्रीमानले रंगेहात पक्रेपछि लामो समयसम्म अलप भएको र त्यही कारण श्रीमान्–श्रीमतीको सम्बन्धविच्छेद भएको बारे त्यसैबेला प्रकाशित समाचारको विषय त सांकेतिक रूपमा उल्लेख थियोे नै ! त्यसमाथि हालसाल धनकुटाको सिंधुवा बजारमा कसरी लाजैमर्दो हर्कत देखाइरहेका छन् भन्नेबारे धेरैतिर फैलिएको हल्लाको सन्दर्भ पनि उल्लेख थियो । त्यो स्टाटसले पार्टीभित्र हंगामा पिटेपछि बुढाथोकीलाई स्टाटस फेसबुकबाट हटाउन लगाइयो तर त्यो स्टाटस धेरैको मोबाइलमा सुरक्षित भइसकेको थियो ।

स्टाटस सार्वजनिक भएको केही समयपछि एमाले धनकुटाले राजेन्द्र राईलाई जिल्ला अध्यक्षबाट हटाएर तत्कालीन प्रदेश सांसद इन्द्रमणि पराजुलीलाई अध्यक्ष बनाएको थियो । यस्तो थियो दीपकले २०७७ माघ २५ गते लेखेको फेसबुक स्टाटस – ‘म बसको यात्रा गरिरहेको थिएँ । छेउमै बसेको साथीले सोध्नुभयो : हजुरको घर कहाँ प¥यो ? मैले धनकुटा भनेँ । ए... धनकुटा । धनकुटाको ताजा खबरचाहिँ के छ नि ! मैले बताउनै पर्ने भयो । प्रश्न यसैका लागि होला भनेर भनेँ– के हुनु र समृद्धिको यात्रामा मुलुक अगाडि बढिरहेको बेला नेताहरूको जुँगाको लडाइँले गर्दा छँदाखाँदाको संसद् भंग भएको छ । दुईतिहाइको सरकार अल्पमतमा परेको छ । साथीले फेरि थपे– तपाईंको जिल्लामा विभाजनको असर कस्तो छ ? मैले भनेँ – कम्रेड राजेन्द्र राईको नेतृत्वले गर्दा खासै विभाजनको असर परेको छैन । त्यसमा पनि राजेन्द्रजीलाई मन्त्री बनाइदिने भनेकै छ । हामी दुईको छलफल पल्लो सिटमा बसेका एक जना यात्रुले सुनिरहेका थिए । बीचैमा उनले बोल्न भ्याइहाले । 

– ए साँच्ची कम्रेड राजेन्द्र राई तपाईंहरूको पार्टी अध्यक्ष र माननीय पनि होइन ? मैले हो भनिदिएँ । के तपाईं उहाँलाई चिन्नुहुन्छ ? मैले प्रतिप्रश्न गरेँ। किन नचिन्नु, धेरै पटक सिधुवा बजारमा भेटेको छु । अनि फेरि उनैले जिज्ञासा राखे– सिधुवामा माननीयज्यूलाई देखिरहन्छु, त्यहाँ के हुँदैछ ? मैले भनेँ– सिधुवा – चित्रे – पटेक डाँडा पर्यटन प्रवद्र्धनअन्तर्गतको काम हुँदै छ । माननीयज्यूले बजेट हाल्नुभएको छ । त्यसैले अनुगमनमा बिहान–बेलुका जुनै बेला पनि पुगिरहनुहुन्छ । उनले फेरि थपे– अं, कम्रेड राजेन्द्र साह्रै असल राम्रो मान्छे हुनुहुन्छ । त्यत्तिकै विकासप्रेमी । पहिले पनि धनकुटाको शीतलपाटीमा गर्नचाहिँ के काम गर्नुभयो । साह्रै चर्चामा आउनुभएको थियो । मैले अनभिज्ञता प्रकट गरेँ । उनले झोक्किँदै भने– धनकुटाको भन्नुहुन्छ । माननीयले गरेका कामको समेत जानकारी राख्नुहुँदोरहेनछ । साथीले मेरो मुख बन्द गरिदिनुभयो त्यसपछि मैले प्रतिप्रश्न गर्ने साहस नै गरिनँ ।’

फेसबुक स्टाटसमा उल्लेख भएको ‘शीतलपाटी’ त्यही ठाउँ हो, जहाँ २०६५ जेठमा धनकुटा छिन्ताङका पुष्ठमान राईले आफ्नै कोठामा श्रीमतीसँग राजेन्द्र राईलाई रंगेहात भेटेको बताएका थिए । त्यसबेला छिन्ताङे राईले जिल्ला प्रहरी कार्यालय, माओवादी जिल्ला पार्टी कार्यालय र एमाले पार्टी कार्यालयमा उजुरी दिए । तर बिडम्बना प्रहरीले राजेन्द्रविरुद्ध उजुरी दर्ता नै गरेन । प्रहरी प्रशासन र पार्टीले बचाउ गर्नाले घटना त्यत्तिकै ढिसमिस भयो । त्यही घटनाका कारण राई जोइपोइको त्यसैबेला सम्बन्धविच्छेद भयो । ०५४ सालको स्थानीय चुनावबाट तत्कालीन जिल्ला विकास समितिको उपसभापति भएका राजेन्द्र त्यतिबेला तत्कालीन अन्तरिम सरकारद्वारा गठित राष्ट्रिय चिया विकास बोर्डको उपाध्यक्ष थिए । त्यही काण्डकै कारण ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाका ७ पालिकामध्ये खोकु छिन्ताङसहितको शहीदभूमि गाउँपालिकासहित दुई पालिकामा  छिन्ताङ काण्डका नाइके सूर्यबहादुर थापाका छोरा भनेर प्रचारित सुनील थापाभन्दा राई पछाडि परेका थिए । यद्यपि उनले चुनाव जिते । ०६५ सालको त्यही ‘शीतलपाटी’ काण्डको भण्डाफोर गरेर छिन्ताङमा पुष्ठमानकै एक बन्धुले कांग्रेसबाट वडाध्यक्ष जितेका छन् ।

‘शीतलपाटी’ काण्डपछि ०६५ सालमा राजेन्द्र लामो समयसम्म भूमिगत भए । ०६५ जेठ २९ गते बुधबार एक साप्ताहिकको पहिलो पेजमा ‘अर्काकी जोइ ताक्ने कामरेड अलप’ शीर्षकमा समाचार प्रकाशन भयो । राजेन्द्र राईकै अर्को हर्कतका कारण १८ वर्ष साउदीतिर बसेर कमाएको करोड सम्पत्ति र श्रीमती गुमाउँदै धनकुटाका अर्का युवाले पनि बाध्यतावश सम्बन्धविच्छेद गर्नुपरेको छ । ‘शीतलपाटी’ काण्डको दशकपछि राजेन्द्रले महालक्ष्मी नगरपालिकामा पनि अर्को संस्करण दोहो¥याएको बताइन्छ ।

आफैँले कमाएर बनाएको धनबाट श्रीमतीले बनाएको र श्रीमती मात्रै रहने घरमा सांसद सधैंजसो आएर बास बस्ने गरेको र उनीहरूबीच शंकास्पद सम्बन्ध हुने गरेको हल्ला साउदीसम्म नपुगेको होइन, तर जे–जसो भए पनि श्रीमती पनि एमाले कार्यकर्ता भएकाले युवाले मन थामेर राखे । करिब एक वर्षअघि १८ वर्षसम्म विदेश बसेर धनकुटामा एउटा गतिलो घर र दुई तीनवटा घडेरी जोडियो, अब विदेश फर्कन्न भन्दै स्वदेश आएका युवाले आफ्नी पत्नीबारे अनेक कुरा सुने पनि उनले ती कुरा इग्नोर गरे ।

युवालाई तब अर्को बज्रपात प¥यो जब स्वदेश फर्केर घरमा आएपछि श्रीमतीले देख्नै सकिनन् । बूढो विदेश त्यागेर आएको चाल पाएपछि श्रीमतीले स्वदेश बस्ने होइन, विदेश फर्कन श्रीमानलाई कर गर्न थालिन् । तर युवाले त्यसो गर्न मानेनन् । त्यही निहुँमा जोइपोइको रडाको मच्चिन थाल्यो । हुन त युवाले कमाएजति जायजेथा श्रीमतीको नाममा पठाएको र करिब ढेढ करोड लागतमा बनेको घर र घडेरीसमेत उनकै नाममा भएकाले पनि युवाले सकेसम्म लफडा नपरोस् भन्ने चाहेका थिए । तर, जोइपोइको सम्बन्ध सुध्रनुको साटो झन् बिग्रन थाल्यो । त्यत्तिकैमा जोइपोइ सुतेको बेला एकदिन राति श्रीमतीले आफूलाई जबर्जस्ती गर्न खोजेको भन्दै जोडले चिच्याइन् । त्यसपछि प्रहरीले श्रीमान्लाई पक्राउ ग¥यो । श्रीमान् पक्राउ त परे तर उनले श्रीमती र एक नेताबीच अनैतिक सम्बन्ध भएको भनी सर्वत्र फैलिएको हल्लाबारे पोल खोलिदिने अवस्था देखियो । त्यत्तिकैमा जोइपोइ घरमै बसेको बेला एकदिन श्रीमतीले आफूलाई पोइले जबरजस्ती ग¥यो भन्दै आरोप लगाइन् । परपुरुषले जबर्जस्ती गरेझैं गरी चिच्याएपछि छरछिमेकी भेला भए । छिमेकीहरू त त्यो नौटंकीबाट अनभिज्ञ थिएनन् तर बोल्न मिलेन ।

त्यसपछि रातारात विदेशबाट आएको श्रीमान् पक्राउ परे । यो घटनापछि विदेशमा कमाएको सारा श्रीसम्पत्ति श्रीमतीसँगै गुमाउनुपर्ने अवस्थामा पुगेका र त्यसमाथि आफ्नै श्रीमतीले बलात्कारको बात लगाएर प्रहरी खोरमा जाकिएका युवालाई त मर्नु न बाँच्नु भएकै थियो नै, राजेन्द्र राईले पनि ठूलै आपत आइलागेको महसुस गरे । कारण थियो प्रहरी हिरासतमा परेका प्रेमिकाका श्रीमान्ले आफ्नो पोल खोलिदेलान् कि भन्ने डर । त्यसैले राजेन्द्रले पार्टी अध्यक्ष इन्द्रमणिलाई गुहारे । रातारात बैठक बसेपछि श्रीमान्ले श्रीमतीलाई ११ लाख दिएर घटना मिलाएजस्तो बनाइयो । तर, कमरेड राजेन्द्र र महिलाको सम्बन्धबारे कहीँ कतै हल्ला नगर्ने शर्तमा केटालाई एमालेले नै जुटाएर ११ लाख रुपैयाँ दिएको धनकुटामा हल्ला मच्चिएको छ । श्रीमान्ले धनकुटामा रहेकोे घर घडेरी श्रीमतीलाई छाडेपछि ती जोइपोइको सम्बन्धविच्छेद भएको छ भने श्रीमान् धनकुटा बस्न नसकी तराईतिर झरेर अर्को विवाह गरी बसेको बताइएको छ । मिडियामा खुल्न नचाहने क्षेत्री समुदायको केटापक्षको परिवार पहिले एमालेमै थियो तर त्यही काण्डपछि उनीहरू कांग्रेसतिर लागेका छन् । 

‘हामी सांसद राजेन्द्र राईका कारण साह्रै अन्यायमा परेका छौं, पीडित पनि भएका छौं । हाम्रो जायजेथा सकिएको छ, परिवार पनि भाँडियो । एमालेसँग धेरै बलियाबाङ्गा छन्, त्यसैले हाम्रो परिचय नखुलाइदिनुहोला’ केटाको परिवारलाई उद्धृत गर्दै एक आफन्तले बताए । एमाले नेता दीपक बुढाथोकीले झण्डै दुई वर्षअघि लेखेको फेसबुक स्टाटस अहिले एमालेविरोधी र गठबन्धन दलहरूको चुनावी मसला बनेको छ । त्योसँगै एमाले सरकारको पालामा जिल्लाका ८२ वटा सामुदायिक स्कुलका लागि ७२ लाखका दरले आएको बजेट उपभोक्ता समिति तथा निर्माण समितिमार्फत गुपचुपमै निर्माण गरी सार्वजनिक नगरेको र नेता कार्यकर्ताले मोटो कमिशन खाएको विषयलाई पनि गठबन्धनवाला दलले चुनावी मसला बनाएका छन् । पहिले एमालेको स्थानीय सरकार हुँदा विनियोजित बजेटको कमिशन दिन इन्कार गर्नाले राजेन्द्र राईले दुई महिनाअघि पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृतलाई ढाड भाँचिदिने धम्की दिएको चुनावी मसलाले पनि धनकुटा गर्माएको छ । 

– महेन्द्र क्षेत्रीबाट 
 

टिप्पणीहरू