भोट माग्ने नेताको जनतासँग खासखुस, सर्वसाधारणलाई सडकमै ‘एम्बुस’

भोट माग्ने नेताको जनतासँग खासखुस, सर्वसाधारणलाई सडकमै ‘एम्बुस’

-रिकेश विश्वकर्मा (क्षितिज)

आगामी मंसिर ४ गतेको चुनाव नजिकिँदै गर्दा एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले जनतासमक्ष विकास र समृद्धिको भाषण रटेका छन् । संघीय संसददेखि प्रदेश सभाका सबै उम्मेदवारले जस्तो पनि वचन दिएको देखिन्छ ।

तर, राजधानीसँग जोडिएको काभेपलाञ्चोकको व्यस्त बजार बनेपाको सडकमा ठूलो भ्वाङ परे पनि यसतर्फ कसैको ध्यान गएको छैन । बनेपाको चौबाटोको व्यस्त सडकमा हप्तौंदेखि भ्वाङ पर्दा स्थानीय नगरपालिकाका जनप्रतिनिधिले पनि कानमा तेल हालेको बसेको स्थानीयले अनुभूति गरेका छन् । 

व्यस्त सडकमा परेको प्वाल मर्मत गर्नेतर्फ जनप्रतिनिधिले समेत वास्ता नगरेको स्थानीय नवीन श्रेष्ठले बताए । संसदीय निर्वाचनको माहौल भए पनि स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ ध्यान नदिएकोमा सबैले आश्चर्य मानेका हुन् ।

पार्टीका झण्डा हल्लाउँदै तामझामसहित सबैजसोले कार्यक्रम गर्ने उक्त ठाउँमा परेको भ्वाङबारे कसैले पनि चर्चा गरेका छैनन् । तर चौबाटोमा परेको प्वालले चुनावमा उठेका उम्मेदवार र स्थानीय जनप्रतिनिधिलाई सबैभन्दा धेरै गिज्याएको छ ।

टिप्पणीहरू