काँग्रेस उम्मेदवारसँग चर्काचर्की गरेका प्रेम लगत्तै ढले

काँग्रेस उम्मेदवारसँग चर्काचर्की गरेका प्रेम लगत्तै ढले prem shrestha

आगामी मंसिर १२ गते छोरीको विवाह भोजका लागि राँगोको छिनोफानो गरेर घर फर्केका चितवनका प्रेम श्रेष्ठ सँधैका लागि ढलेका छन् । मुग्लिनका प्रेम श्रेष्ठ गत आइतबार अपरान्ह घर आइपुगेर मोबाइलमा समाचार हेर्दै थिए ।


सोही दिन दिउँसो इच्छाकामना–४ लेवाटार, चितवनमा घरदैलो गरिरहेका उम्मेदवार रवि लामिछानेका समर्थक र सवारी साधनमाथि आक्रमण भएको थियो । उक्त आक्रमण सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइसकेको थियो । उनी त्यहि समाचार हेर्दै थिए ।

सोही समयमा चितवन–२ का काँग्रेसको तर्फबाट सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, प्रदेशका घनश्याम दाहाल उनीसँग भोट माग्न टुप्लुक्क आइपुगे । लामिछानेको गाडीमा भएको आक्रमणप्रति आक्रोशित काँग्रेस नेतृ निर्मला श्रेष्ठका पति प्रेमले काँग्रेस नेता सामु चर्को आक्रोश पोखे । 

मुग्लिनको देवकोटा मेडिकल हल नजिकै भएको काँग्रेस नेतासगँको भनाभनपछि एकाएक ढले । उनी कहिल्यै नउठने गरि ढलेको ढल्यै भएका हुन् । 

 
श्रीमती निर्मला २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसको तर्फबाट इच्छाकामना गाउँपालिका–५ को महिला सदस्यमा विजयी भएकी हुन् । श्रीमान् ढलेको दिन पनि उनी गठबन्धनको प्रचाराम व्यस्त थिइन् । 

श्रीमतीसँग प्रेमले केही दिन अघिदेखि काँग्रेससहितको गठबन्धनलाई भोट नहाल्ने बताएको नातेदार तथा छिमेकीहरुले चर्चा गरेका छन् । ढलेका प्रेमलाई मुग्लिनमा रहेको हाईवे अस्पतालमा लगियो । त्यहाँ उपचार हुने कुरै थिएन । भरतपुर रिफर गरिएका प्रेमको सोही राति नै देहावसान भएको हो । भोलिपल्ट अन्त्येष्टि गरिएका श्रेष्ठको आत्माको चिरशान्तीको कामना गर्दै इच्छाकामना गाउँपालिकाले वक्तव्य नै जारी गरेको छ ।

अञ्जनकुमार

टिप्पणीहरू