अनुमान गर्न कठिन सर्लाहीको चुनाव, स्वतन्त्रको चर्चा बढी

अनुमान गर्न कठिन सर्लाहीको चुनाव, स्वतन्त्रको चर्चा बढी

महोत्तरीझैं सर्लाहीमा पनि स्वतन्त्र उम्मेदवारहरु राजनीतिक दलका नेता र उम्मेदवारको निम्ति टाउको दुःखाइको विषय बनेका छन् । सर्लाहीका चार वटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा स्वतन्त्र र राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले सत्ता गठबन्धन र नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई कडा टक्कर दिने अवस्था बन्दै गएको छ । हिजो क्षेत्र नम्बर ३ हरिऔनमा आयोजित गठबन्धनको चुनावी सभामा उपस्थित केही नेताले जनआस्थाकर्मीसँग भने, ‘१ र ४ मा स्वतन्त्र उम्मेदवारहरुले बाजी मार्ने सम्भावना बढ्यो ।’ 

सो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रहरी निरीक्षकबाट अवकाश पाएका रामप्रसाद चौधरी उम्मेदवार छन् । एमाले–जसपा उम्मेदवार प्रमोद शाह पनि चुनावी मैदानमा छन् । नेकपा एमालेबाट पूर्वमेयरमा निर्वाचित भइसकेका खड्कालाई गठबन्धनको साथ र सहयोग रहेको बताइन्छ । एमालेका केही नेताहरुले समेत उनलाई समर्थन गरेको अवस्था देखिन्छ । 

खड्कालाई मधेशी मूलका ४० प्रतिशत र पहाडी मूलका ६० प्रतिशत मतदाताले मत दिने अनुमान लगाउन थालिएको छ । पहाडतर्फकामध्ये संघ र प्रदेशमा टिकट नपाएकाहरु उनको चुनावी अभियानमा जुटेका छन् । स्वतन्त्रको पक्षमा उभिएर उनीहरुले आफ्नो असन्तुष्टि पोखेका छन् । यसअघि नेपाली काँग्रेसबाट चुनाव जितेका शम्भुलाल श्रेष्ठले पनि उनलाई सहयोग गरेको बताउन थालिएको छ । 

तर, उनले आफू तटस्थ रहेको बताउँदै आएका छन् । यता, नेकपा माओवादी केन्द्रका नेता लोचन, एमालेकी रेवती पन्तलगायत उम्मेदवारले पनि उनलाई समर्थन गरेका छन् । त्यस्तै, क्षेत्र नम्बर ४ का अर्का स्वतन्त्र उम्मेदवार छन्, अमरेशकुमार सिंह । 

लोसपाका नेता महन्थ ठाकुरलाई उनले यहाँबाट दुईपल्ट पराजित गरेका थिए । दुई पटक सांसद् भइसकेका सिंहले काँग्रेस नेता डा.शेखर कोइरालाको गुटमा बसेर पार्टी सभापति शेरबहादुर देउवाको विरोध गरेका कारण उनी काँग्रेसबाट बाहिरिएका हुन् ।

कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट लडेका छन् । त्यसैगरी माओवादी नेता शिवपूजन रायले पनि आफ्नी छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका छन् । समानुपातिकबाट आफ्नी श्रीमतीले चुनाव लडेको भए पनि उनले छोरीलाई स्वतन्त्र उम्मेदवारका रुपमा उठाएका हुन् । 

यादवहरुको बाहुल्यता रहेको उक्त क्षेत्रमा गठबन्धनले पूर्वसांसद् नागेन्द्रराय यादवलाई चुनावी मैदानमा उतारेको छ । साथै, एमाले–जसपाबाट लडेका अर्का प्रतिस्पर्धी राकेश सिंह पनि छन् । अमरेशकुमार पक्षधरले फेरि पनि उनैले जित्ने दाबी गरेका छन् । काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा लडेका उनीप्रति मतदाताले सहानुभूतिसमेत देखाएको बताइन्छ । 

अरु उम्मेदवारको तुलनामा उनी जिल्ला र क्षेत्रमा निकै सक्रिय भएकाले पनि त्यस्तो विश्लेषण गरिएको हो । फरकठवा गाउँका स्थानीय सुरेश ठाकुरले भने, ‘यो क्षेत्रमा शिवपूजनको छोरी र अमरेशबीच टक्कर हुने देख्छु ।’ 

क्षेत्र नम्बर २ मा लोसपाका उम्मेदवार राजेन्द्र महतो र डा. बाबुराम भट्टराईको पार्टीबाट माओवादीको चुनाव चिन्ह लिएर उठेका महिन्द्रराय यादवबीच रोचक राजनीतिक भीडन्त हुने देखिएको छ । यी दुई एक अर्कालाई पछार्न आमनेसामने भएका हुन् । गठबन्धनले पहिले राजेन्द्रलाई समर्थन गर्ने भने पनि अन्तिममा आएर महिन्द्रलाई साथ दिएको थियो । लोसपाले आपत्ति जनाएपछि गठबन्धनले मित्रवत प्रतिस्पर्धाबाट अघि बढ्ने धारणा अघि सारेको थियो । 

सो क्षेत्रमा ५० प्रतिशत यादवहरुको बसोबास छ । कांग्रेसका नेता जंगीलाल यादव पनि राजेन्द्रकै प्यानलबाट प्रदेशमा चुनाव लडेकाले महिन्द्रलाई सकस पर्नसक्ने अनुमान गरिएको हो । महिन्द्रलाई मुस्लिम समुदायले समर्थन गर्ने देखिएको छ भने राजेन्द्रलाई टेलिसुरी जातिका मतदाताले । 

राजेन्द्र रवाफिलो व्यक्ति हुन् भने तुलनात्मक महिन्द्र सरल । तर महिन्द्र विकास गर्ने नेताको कोटामा पछाडि रहेको स्थानीयहरुले बताएका छन् । एक जनाले भने, ‘महिन्द्रले गरेको कामको लेखाजोखा हामीले गरिराखेका छौं ।’

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट पूर्वसांसद् नागेन्द्र शाह र एमालेबाट अभिनेता निखिल उप्रेतीका दाइ हरि उप्रेतीबीच कडा टक्कर हुने अवस्था छ । मधेशप्रति देखाउँदै आएको अनुदार व्यवहारका कारण स्थानीयले एमालेको नाम स्वतःस्फूर्त रुपमा लिएको पाइएन ।

अर्का, उम्मेदवार नागेन्द्रले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आश्वासन देखाए पनि कुनै काम नगरेको मतदाताहरुको आरोप छ । नागेन्द्रको सिंगापुर र नेपालका धेरै वटा होटलमा रहेको क्यासिनोमा लगानी रहेको बताइन्छ । 

उनलाई जिताउनैका लागि बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र हरिऔन नगरपालिकाका मेयर कमल बुढाथोकीले लागेसम्मको जोडबल गरेका छन् । यतिखेर सर्लाहीमा चुनावी माहौल तातेको छ । कतै स्वतन्त्रले राजनीतिक दलका नेतालाई च्यापेका छन् भने कतै पार्टी–पार्टीबीच नै रोचक प्रतिस्पर्धा भएको देखिन्छ ।

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले सुनसरीमा एक जनाको उम्मेदवारी खारेज गरेको छ ।  प्रदेशसभा ४ (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरिएको छ । मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जानकारी दिएको छ ।

आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम उनको उम्मेदवारी खारेज गरेको हो । यस्तै, मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिइएको छ ।

टिप्पणीहरू