यो जिन्दगी, खै के जिन्दगी

यो जिन्दगी, खै के जिन्दगी

पश्चाताप मानेर के गर्नु ? जे नहुनु थियो त्यही भएपछि । उमेरमा बुद्धि पुगेन, सोचिएन, आमाबुवाले भनेको मानिएन, मायाप्रेम नै सर्वेसर्वा लाग्यो । मायाको अन्धोपनले परिवार देखिएन, समाजको वास्ता गरिएन, भौतिक जिन्दगी मात्र नियालियो । तर, आज जिन्दगी, परिवार, इज्जत, समाज के हो महसुस भइरहेछ । त्यतिबेला सोच्थें– एकबारको जिन्दगी न हो, दुई मुटु एक धड्कन भएपछि अरु के चाहियो र ! होइन रहेछ त्यस्तो । समय, परिवेश र परिस्थितिले सबक सिकाउने रहेछ । यही विवशतामा जिउन बाध्य भइरहेको म अहिले जिन्दगीलाई नजिकबाट चियाइरहेको छु ।

०६५ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययन पनि धनकुटामै गर्ने निधो भयो । त्यतिबेला एसएलसीको मान्यता राम्रै थियो । परिवारको माइलो छोरो । जेठो दाइको बिहे भएर दुइटा बच्चा भइसकेका थिए । कान्छो भाइ ८ मा पढ्दै थियो । परिवार सुखी नै थियो । दाइले आफू बिहे गरे पनि मलाई राम्रै पढाउने धोको थियो । दाइको धोको पूरा गर्न धनकुटा झरें । त्यहाँ बरालिने केटाहरूसँग भेट भयो, पढन्तेहरूसँग पनि भेट भयो । र, त्यसरी नै उच्च अध्ययन अघि बढ्यो । 

एसएलसीजसरी उच्च अध्ययन अघि बढाउन सकिनँ । किशोरावस्था भएकाले जता रिल्याक्स त्यतै तन, मन ढल्कियो । परिवारको दुःख, दाइको स्नेह भुलियो । अध्ययनभन्दा पनि साथीभाइसँगै रुमल्लिने वातावरणले अध्ययनसँगै जीवन पनि अन्धकारतिर धकेलिन पुग्यो । साथीभाइहरू प्रायः धनी वर्गका थिए । आफूसँग पैसा नभए पनि साथीहरूले सजिलै खुवाउने, कोठाभाडा तिर्न नपुगेको अवस्थामा उनीहरूले नै तिरिदिने । यति गरेपछि त्यो उमेरमा अरु के नै चाहियो र ? चिचिपापा, घरभाडा, लुगाफाटो सबै जोरजाम गरिदिने साथी भेटेपछि उनीहरूको संगत किन नगर्ने ? 
११ कक्षामा दुई विषय लाग्यो, १२ मा तीन विषय । ११ र १२ को पाँच विषय छिचोल्न सकिनँ । तर, घरमा भने प्लस टु पास भइयो भनेर ढाँटेँ । परिवारले माइलो छोरो सोझो छ, झूटो बोल्दैन भनेर सजिलै पत्यायो । तर, यथार्थमा म पढाइ, परिवारभन्दा निकै टाढा पुगिसकेको थिएँ । विषय लागेकोमा मलाई अब परिवारले पढाइ र जिन्दगीबारे सोधखोज गर्दा रिस उठ्थ्यो । आफ्नो पढाइ, परिवार र दाइलाई के को खसखस ? प्रश्नले दिमागमा हिर्काउँथ्यो । छुट्टीमा पनि अब आफ्नो होइन, साथीहरूको घर जाने गर्थें, परिवारभन्दा साथीभाइ नै देवताजस्तो लाग्न थाल्यो । 

सिलसिला यसरी नै चल्दै थियो । पढाइ त अब बहाना मात्र वास्तविक पढाइ त साथीभाइ नै । उनीहरूले सिकाएका, देखाएका, हिँडाएका बाटाहरू नै जिन्दगीका गोरेटो लाग्थ्यो । परिवारले हिँडाएको र देखाएको बाटो भूत घरजस्तो लाग्ने । परिवार पनि अब मेरा आनीबानीसँग परिचित भएर होला टाढा हुँदै गयो । दशैँ, तिहार र अन्य पर्वमा पनि म घर जान्नथें । फोन आए पनि उठाउँदिनथेँ । आमा बिरामी भएर बितेको खबर आएपछि घर जान बाध्य भएँ ।  आमाको किरिया सकेर केही दिनमै धनकुटा फर्किएँ ।

साथीभाइसँग हिँड्दा हिँड्दै जोवन गएको पत्तो भएन । जता गए पनि साथीभाइ । उनीहरूको पुच्छर नै भएको थिएँ, म । तर, पुच्छर भएर कतिञ्जेल हिँडुला ? त्यो भने कहिल्यै सोचिनँ । किनकि त्यो सोच्ने उमेर नै थिएन । त्यो त रिल्याक्सको जिन्दगी थियो, बार जाने, रमाइलो गर्ने । सकेसम्म बेग्लै मोजमस्ती गर्ने । अहिले सम्झिँदा लाग्छ– वास्तवमा त्यो समयको गल्ती थिएन मेरो उमेर र मेरो सोचाइ नै गलत रहेछ । तर, अहिले बिलौना गरेर के नै पाइन्छ र ? 

किशोरावस्था पार गरेर उँभो लागेपछि साथीभाइहरू विस्तारै लाखापाखा लाग्न थाले । कोही पूर्व–पश्चिम, कोही उत्तर–दक्षिण । केही साथीहरू ड्रग्समा फसे, कोहीले जानीनजानी घरजम बसाले, केही विदेश उडे । तर, म यता न उताको भएँ । न पूर्ण रूपमा बेवारिसे बन्न सकें, न जिन्दगीलाई अघि बढाउने उपाय नै निकाल्न सकें । तैपनि एकमुठी सास फेर्न त बलजफ्ती नै जिउनुपर्ने ! ढिलोगरी बुद्धि पलायो, एउटा रेष्टुरेन्टमा काम पाएँ । कोठा छाडें, तिर्ने पैसा नभएपछि कसरी भाडामा बसूँ ? रेष्टुरेन्टमै खाने, बस्ने, सुत्ने व्यवस्था भएपछि अलि सहजता भयो । तर, मसँग परिवार थिएन, भए पनि रहे–नरहेको केही खबर र आउजाउ थिएन । 

जिन्दगीको बीच बाटोमा सोच्ने नयाँ द्वार खुल्दै थियो । विगतलाई भुलेर वर्तमान राम्रो बनाउने कोसिस गर्दै थिएँ । तैपनि, भनेजस्तो वर्तमान बनाउन निकै कठिन । न हातमा पैसा, न त राम्रो सीप । रेष्टुरेन्टबाट थापेको पैसाले रेष्टुरेन्ट नै खोल्ने कुरा सपना थियो । तैपनि, थापेको रकम बैंकमा जम्मा गर्न थालेँ । लगभग ८ वर्ष त्यही रेष्टुरेन्टमा बिताएँ । उमेर २७ को आसपास दौडिनै लागिसकेको थियो । केही जिम्मेवारी बढेजस्तो पनि महसुस भइरहेको थियो । र, प्रायः सोच्थेँ अब व्यवसाय गर्छु । तर, कस्तो व्यवसाय अँगाल्ने ? अनभिज्ञ थिएँ । तैपनि अब अरुकोमा होइन आफ्नै लगानीमा काम गर्ने हुटहुटी भने भइरह्यो । 

रेष्टुरेन्टनजिकै एक जना दिदी किराना पसल चलाउँथिन् । किराना पसलसँगै उनको दारु पसल पनि राम्रै फस्टाएको थियो । त्यहीँबाट आर्जन गरेको रकमले छोरी पढाउँथिन् । छोरा सानै । अहिले छोरी ७ मा पढ्छिन् । आवतजावत बाक्लो भएकाले आमा र छोरीसँग निकै नजिक थिएँ । उनी लिम्बुनी, म बान्तवा । उनकै दोकानमा प्रायः भात पाक्थ्यो मलाई । म रेष्टुरेन्टमा काममात्र गर्थें, खान र सुत्न दिदीकै कोठामा जान्थें । दिदीको दर्द र मेरो दर्द उस्तै । घण्टै बात माथ्र्यौैं । 

ती दिदीका श्रीमान् छोरी पेटमा हुँदै विदेश गएर बेपत्ता भएका रहेछन् । परिवारको सम्पर्कमै श्रीमान् वर्षांै नआएपछि दिदीले एक्लो ज्यान र छोरीको ज्यान जसोतसो पालिन् । तर, घर समाजमा पनि बस्ने वातावरण नभएपछि संखुवासभाबाट धनकुटा आइन् । धनकुटामा दिदी बस्थिन् । अहिले उनकी दिदी विदेशमा छन् । धनकुटा आएपछि सानो दोकान चलाएर छोरीलाई पनि हुर्काउन थालिन् । यही सिलसिलामा दिदीसँग मेरो भेट भयो । 

चिनजान भएको केही वर्षमै सम्बन्धले दिदीबाट उनी श्रीमतीमा परिणत भएकी थिइन् । झ्याइँ झ्याइँ बिहे गर्ने कसरी ? हामीले आ–आफैँ मन, तन साँट्यौँ । एउटै खाटलाई बिछ्यौँना बनायौँ र लोग्ने स्वास्नी भयौँ । सुरुवाती दिनमा तनाव भुल्न म उनको भट्टी जान्थें, उनी मेरो तनाव भुलाउन गिलाससँगै प्यार पनि पिलाउँथिन् । अहिले हाम्रो मन मिलेको झण्डै एक दशक भइसक्यो । उनी ३७ पुगिन्, म ३२ । भनाइ नै छ– भैँसी किन्दा पाडो उपहार । मलाई पनि त्यस्तै भयो । म आफ्नै सन्तान जन्माउन चाहन्थँे तर उनी यही सन्तान आफ्नो ठान्नुपर्ने ढिपी कस्थिन् । अन्ततः उनकै ढिपीले जित्थ्यो । 

जे–जस्तो भए पनि मैले आफ्नै छोराछोरी ठानेर बुवाको कर्तव्य निभाउनुपर्ने भयो । रेष्टुरेन्टको जागिर छाडेर कमाएको पैसा र श्रीमतीको कमाइले सामान बोक्ने चार चक्के गाडी बोलेरो खरिद गरेँ । अहिले आम्दानी पनि ठीकै छ । जहान पाल्न, आफू हिँड्न कुनै सकस छैन । केही दिनअघि श्रीमतीलाई सन्तानको चाहनाबारे प्रश्न गरेँ । तर, उनले उल्टै थर्काइन्– अब लाज लाग्दैन, यिनै हुन् तिम्रा सन्तान, कुन सन्तान जन्माउने ? के को लागि जन्माउने ? 

मलाई अझै पनि आफ्नै सन्तान जन्माउने चाहना छ । तर, सम्भावना टुट्दै छ । मेरो जोडबल पनि टुट्दै छ । किनकि यो मेरो भाग्यको जीवनरेखा मैले होइन अरुले कोरिदिएका छन् । पहिले साथीभाइले भाग्य कोरिदिए, अहिले श्रीमतीले । म कहिल्यै आफ्नो सोचाइले चलिनँ, चल्नेवाला पनि छैन । किनकि आपूmले आफँैलाई चलाउने उमेर घर्किसक्यो । अब त बूढो बाघले मारेको सिकार पर्खने मात्र रहेछ । –    

– सौगात राई 
 

टिप्पणीहरू