सबैभन्दा पहिले माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

सबैभन्दा पहिले माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

पर्सि हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विभिन्न चार देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् । सोही क्रममा हिजो माल्दिभ्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।

श्रीलंकन एअरको उडानमा श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद थोफिकको नेतृत्वमा दुई सदस्यीय टोली काठमाडौं आएको हो । टोलीमा सहायक निर्देशक फाथमाथ शावा बागिर पनि छन् ।

नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचनको विश्वसनीयता बढाउन उनीहरूले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार २०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको जानकारी दिएको छ । 

पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् ।

टिप्पणीहरू