गृहमन्त्रीको जिल्लामा मदिरा बोकेका दुईवटा गाडी स्थानीयले समाते

गृहमन्त्रीको जिल्लामा मदिरा बोकेका दुईवटा गाडी स्थानीयले समाते

रुपन्देहीको शुद्धोधनबाट मदिरासहित दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । प्रहरीले शुद्धोधनको वडा नम्बर १ बेलवा र वडा नम्बर ५ खजुरीयबाट मदिरा बोकेको गाडी नियन्त्रणमा लिएको जनाएको छ । 

पर्सि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । तर निषेध गरिएको अवधिमा शुद्धोधन–१ बेलवामा आज दिउँसो नम्बर नखुलेको सवारी साधनसहित १५ कार्टुन मदिरा नियन्त्रणमा लिइएको छ ।

शुद्धोधन ५ खजुरियाबाट लु. १ च ९२१९ छोटाहात्ती गाडीसहित २६ कार्टुन मदिरा बरामद भएको जनाइएको छ । ती मादिराको बाहिरी भागमा अन्तशुल्क स्टिकर टाँसिए पनि भित्री बोतलमा स्टिकर देखिँदैन ।   

बेलवामा बरामद मदिरा निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका अधिकृत विष्णुप्रसाद ज्ञवालीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी प्रमुखको आदेशमा इलाका प्रहरी कार्यालय रन्यौरा बुझाइएको छ । खजुरीयाको बरामद मदिरा इलाका प्रहरी कार्यालय छपियामा राखिएको बताइएको छ ।  

स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि प्रशासनलाई खबर गरेका थिए । बरामद मदिरा र गाडीसहित आवश्यक कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू