सिडिओ कार्यालयभित्र सक्कली, बाहिर नक्कली

सिडिओ कार्यालयभित्र सक्कली, बाहिर नक्कली

जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताउँदै ठगी हिँड्ने व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्रशासकीय अधिकृत बताउँदै ठगिरहेका गोरखाको शहीद लखन गाउँपालिका–४ का बुध्दिमान परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमै जनता ठगेका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार परियारको साथबाट निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र बरामद भएका छन् । 

उनले आफूलाई आकाशचन्द्र परियार बताउँदै सोही नाम लेखिएको प्रशासकीय अधिकृतको रबर छाप प्रयोग गरेका छन् । परियार बस्दै आएको होटलको कोठामा खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप,दस्तखत भएका पत्रहरू,ल्यापटप,पेनड्राइभ र ६३ हजार रुपैयाँ फेला परेको डीएसपी थापाले बताए ।

उनलाई हिजो जिल्ला अदालत बागलुङमा उपस्थित गराएर अनुसन्धानको निम्ति ७ दिनको म्याद थप गरिएको छ ।

टिप्पणीहरू