के हो त यो चुनावको संकेत र सन्देश ?
-वैकुण्ठ ढकाल
पंक्तिकारले मतदान नगरेको डेढ दशक हुनै लागेछ । कामको प्रकृतिले मतदान गर्ने अवसर नपाइएको हो । आमा, श्रीमती, दाजु र भाउजूले नियमित मतदान गरिरहनु भएको छ । यो पटक यसलाई मतदान गर्नुहोस् भनेर पंक्तिकारले कसैलाई पनि दबाब दिनु परको कुरा सुझावसम्म पनि दिएको छैन । यो पटक पनि मतदानको बेलुका मात्रै घरमा फोन गरेर सोधेँ । कुनै प्रतिक्रिया दिइन । आमाको गुनासो थियो– मैले दिएको मत खेर गइरहेको छ । ढाढस दिँदै भनें यो पटकको मत खेर जाँदैन नि । प्रारम्भिक मतगणनाले त्यस्तै संकेत गरिरहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभामा मुस्ताङले खाता खोल्यो । प्रतिनिधिसभामा त २९ वर्षीय युवाले चुनाव जिते । बा पुस्ताका उम्मेदवारलाई पछारेर सांसद हुनुको गतिलो सन्देश छ । यो नतिजाको स्पष्ट सन्देश हो, अब बूढालाई आराम, युवालाई अवसर । देशभर आइरहेको प्रारम्भिक रुझानले पनि त्यसै भनिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको सुरुवाती अग्रताले युवा पंक्तिलाई उत्साही बनाएको छ । कतिपय ठाउँमा अन्य स्वतन्त्र उम्मेदवारको पनि अग्रता छ । अहिले नै नतिजा यस्तो आउँछ भनेर अनुमान गरिहाल्नु हतार हुन्छ । अहिले नै यत्ति चाहिँ भन्न सकिन्छ । नेकपा एमाले र नेपाली कांग्रेस पहिलो र दोस्रो पार्टी हुने पक्का छ । तेस्रो पार्टीको लागि कडा प्रतिस्पर्धा देखिन्छ ।
सुरुवाती अग्रता लिइरहेका केही उम्मेदवार साँच्चै संसदमा छिरे भने के होला भन्ने सोचेर अहिल्यै भाउन्न पनि हुन्छ । भुइँफुट्टा राजनीति गर्ने र साँच्चैको राजनीति गर्ने एउटै थलोमा हुँदा कस्तो होला ! यही व्यवस्थाको विरोध अनि यही संसदका लागि मरिहत्ते ! गर्दा बडो नमिल्दो लाग्छ । राजनीति भनेकै यही होला हुन त । कहिलेकाहीँ समाचार कक्षको दैनिक बैठकमा नेपाली राजनीति र राजनीति गर्छु भन्नेहरूको अनुहार बारे कुराकानी हुन्छ । कालो दिन नजिकै छ जस्तो देखिन्छ । जे जे भने पनि हामी दलको विकल्प दल नै हो भन्नेमा सहमत छौं । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुन्छ ।
दलको विकल्प दल नै भन्नुको मतलव दलीय व्यवस्थामा दलबाहिर जानु हुँदैन भन्नु हो । राजनीतिक नेतृत्व छान्दा कत्तिको टिकाउ हुन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । जुनसुकै दलले उठाएका हुन्, युवा उम्मेदवारमा मतदाताको आकर्षण देखिएको छ । मतदाताले अहिले जसरी अभिमत व्यक्त गरिरहेका छन । उम्मेदवारको आवरण हेरेर मत दिइरहेका छन् । भित्री रूपमा चिनेका र चिन्न कोशिस गरेका भए, सुरुवाती रुझानमा अग्रता लिएकामध्ये केही त गणनामा आउने नै थिएनन् भन्ने लाग्छ । यत्ति भनेपछि यी पंक्ति कता लक्ष्यित हो भन्ने पाठकहरूले अवश्य नै बुझेका छन् । परीक्षण नभएकालाई एक पटक मौका दिऊँ न त भनेर मत जाहेर गरेका पनि हुन सक्छन् । नयाँ मतदाताले नयाँ नै उम्मेदवार खोजेका छन् । नयाँ रोजेका छन् । यसको नतिजा हो– राष्ट्रिय स्वतन्त्र पार्टीको मत । यो पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । असोज १७ गते मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन– २ बाट छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ ।
अहिले परिवारभित्र सल्लाह भएर पूरै परिवारको भोट एउटै चिह्नमा खस्ने सम्भावना कम हुँदै गएको छ । अर्कोतिर मतदानप्रति आकर्षण कम हुँदै छ । यसले पक्कै पनि राम्रो संकेत गर्दैन । ठूलो पंक्ति वर्षौंदेखि मतदान गरें, खै त आफ्नो लागि के भयो र भन्ने चरम निराशामा फसेका छन् । नेताले आफ्नोलागि मात्रै गरे देश र जनताको लागि केही गरेनन् भन्नेको संख्या बाक्लो छ । स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । त्यो बेला एक करोड २५ लाख ८३ हजार ८५० मत खसेको थियो । त्यसयताको सात महिनामा दुई लाख ५४ हजार ८४७ थपिए । तर मत भने एक करोड नौ लाख ५७ हजार मात्रै खस्यो । यो स्थानीय तह निर्वाचनको तुलनामा झण्डै १० प्रतिशत कम अर्थात् करिब ६१ प्रतिशत मत खसेको छ । जबकि वैशाखमा करिब ७१ प्रतिशत मत खसेको थियो । अन्तिम विवरण आउन बाँकी रहेकाले यसमा केही संख्या थपिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले ७० प्रतिशत मतदान हुने अपेक्षा गरेको थियो । मतदानमा सहभागिता घटेको विषयलाई धेरै नकारात्मक रूपमा बुझ्न नहुने विज्ञको सुझाव छ । कम मत खस्नुमा यसमा धेरै पक्ष जोडिन्छन् । मतदातालाई भोट हाल्न जानका लागि धेरै कुराले प्रेरित गर्नुपर्छ ।
तर, भोट हाल्नका लागि मान्छे प्रेरित भइरहेका छैनन् । भोट हालेर के हुन्छ र भन्ने परेको छ । स्थापित राजनीतिक दलप्रति आकर्षण छैन । अर्कातिर मतदानका लागि योग्य युवा ठूलो संख्यामा विदेशमा छन् । चुनावकै मुखमा बिदेसिनेको लर्को घटेको छैन । तर, भोट हाल्नकै लागि कोही पनि देश फर्किएका छैनन् । देशभित्रै हुनेहरू पनि मतदाता नामावली भएको ठाउँमा पुगेका छैनन् । मतदानका लागि भनेर सरकारले कम्तिमा दुई दिन बिदा दिएको थियो । मतदानको अघिल्लो दिन शनिवार थियो । मतदाताले चाहेका भए मतदान गरेर आफ्नो कार्य क्षेत्रमा फर्कन सक्थे, त्यसो गरेनन् । स्थानीय निर्वाचनमा चिनेका उम्मेदवार थिए । मुद्दा थियो । उनीहरू स्थानीयस्तरमा बाटोघाटो र पूर्वाधार बनाउने भनेर भोट मागिरहेका थिए । त्यो स्वाभाविक पनि थियो । तर अहिले पनि यही मुद्दामा प्रदेश र संघका उम्मेदवारले मत मागे । फरक मुद्दा दिएर मतदातालाई आश्वस्त पार्न सकेनन् । नयाँ र स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढेको देखिए पनि तिनले नयाँ मतदाताबाट भोट ल्याउन सकेका छैनन् । उनीहरूले पनि परम्परागत र प्रमुख दलहरूकै भोट तानिरहेको देखिन्छ । नयाँ र स्वतन्त्रको अभूतपूर्व परिचालन र प्रभुत्व बढे पनि भोटमा देखिएन । प्रारम्भिक नतिजा हेर्दा स्वतन्त्र उम्मेदवारले गठबन्धनको मत काटिरहेको छ ।
अर्कोतिर नियमित निर्वाचन हुन थालेपछि त्यसप्रति मतदाताको आकर्षण कम हुँदै गएको पनि हुन सक्छ । बाली थन्क्याउने मौसम, चाडबाड सकिएर विदेश जाने समयका कारण पनि मानिस आफ्नो काममा व्यस्त भएर भोट हाल्न नगएको हुन सक्छ । दलबीच तालमेलको असर हुन सक्छ । मतदाता शिक्षा पनि कमजोर भएको हुन सक्छ । यी सबै प्राविधिक कुरा भए । तर, यथार्थमा यो राजनीतिप्रतिको वितृष्णा हो । गरेका घोषणा र प्रतिबद्धता निर्वाचित भएर गएपछि पूरा नगर्ने प्रवृत्तिले उम्मेदवारप्रति नागरिकको वितृष्णा छ । जनताले बनाएको संविधानको म्याण्डेटअनुसार चुनाव भएको छ । यसमा सबै सहभागी हुनुपर्ने हो । तर, पाँचै वर्षमा चुनावप्रति मतदाता किन विरक्त भए भन्ने प्रश्न जन्मियो । यसमा संविधान नयाँ आयो, प्रणाली नयाँ आयो तर व्यक्ति नयाँ आएन, वर्षौँदेखि उही अनुहार आयो । न व्यक्ति नयाँ, न एजेण्डा नयाँ । नयाँ मतदाताको मत लिएका दल र उम्मेदवारले विश्वास दिलाउन र वाचा पूरा नगर्ने हो भने मतदाता बढ्ने, मत कम खस्ने भइरहन्छ । यसले जित्नु पर्नेले हार्ने र हार्नु पर्नेले जित्ने हुन सक्छ । यो भनेको मतदाता र व्यवस्थाले हार्ने, नेताले मात्रै जित्ने कुरा हो । यसबाट बच्न, बचाउनका लागि नेता र मतदाता दुबै जिम्मेवार हुनु पर्दछ । राजनीति गर्नेले राजनीति नै गरुन् । राजनीति गर्नुपर्ने ठाउँमा राजनीति नहुने, नगर्नुपर्ने ठाउँमा चरम राजनीति हुने रोग छ । यसबाट टाढा रहनु पर्छ ।
टिप्पणीहरू