कुराले चिउरा भिज्दैन नि नेताज्यू

कुराले चिउरा भिज्दैन नि नेताज्यू

– वैकुण्ठ ढकाल
 

२०७९ सालको आमनिर्वाचनमा पूर्वराज्यमन्त्रीदेखि पूर्वमन्त्रीसम्मको जमानत जफत भयो । कुनै बेला बडो रापतापको पार्टीको नेतृत्व गर्ने अध्यक्षहरू नै पराजित भए । त्यो पनि फराकिलो अन्तरले । यसको फेहरिस्त अलि लामो हुन्छ । यहाँ केही प्रतिनिधि घटना मात्रै उल्लेख गरौं । नेपाल सरकारको मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले जमानत जोगाउन सकेनन् । काठमाडौं ७ बाट श्रेष्ठले कूल सदर मतको ६.८ प्रतिशत मात्र प्राप्त गरे । त्यहाँ कूल ३६ हजार ६१ मत सदर भएको थियो । यही निर्वाचन क्षेत्रमा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३.४ प्रतिशत प्राप्त गरे । जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र हाल काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना पनि छिन् । उनले खसेको कूल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै पाइन् । काठमाडौं ५ मा सदर मत ४४ हजार २४९ छ । २०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् । 

विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ बाट स्वतन्त्र उठेका पाण्डेले कूल सदर मत ४२ हजार ५ सय १७ मतमध्ये २ हजार ३ सय २७ मत प्राप्त गरेका छन् । यो कूल सदर मतको ५.५ प्रतिशत मात्रै हो । ०७४ सालमा भने ४ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । 

सदर मतको १० प्रतिशत ल्याउन नसके जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ । काठमाडौंमा नेवार समुदायको उम्मेदवारलाई चुनाव जित्न सहज हुन्छ भनिन्थ्यो । त्यो यो पटक मात्रै हैन अन्य निर्वाचनमा पनि गलत सावित भएको छ । यदि सहज हुन्थ्यो भने श्रेष्ठ वा मानन्धरले चुनाव जित्थे । काठमाडौंले युवालाई जिताउँछ भनिन्थ्यो, त्यो पनि पाण्डे र दर्शनाको मतले गलत सावित गरिदिएको छ । यो वा ऊ भन्नु भन्दा पनि मतदाता वा मत चलायमान छ भन्ने बुझ्दा अलि सहज हुन्छ जस्तो छ । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नै पूर्वसहयात्रीसँग चुनाव हारे । त्यहाँ राप्रपाका दीपकबहादुर सिंहले २७ हजार ८ सय ५१ मत ल्याउँदा थापाले २५ हजार ४ सय ६० मत पाए । आफैं अध्यक्ष रहेका थापा नेकपा एमालेको सूर्य चिह्नबाट लडे । एमालेलाई थापालाई उम्मेदवार स्वीकार्न कठिन भयो । पार्टी अध्यक्ष नै अर्को पार्टीको चुनाव चिह्नमा लड्नु जित्नु हैन, लड्नु मात्रै हो भन्ने थापाले पुष्टि गरे । 

पार्टी अध्यक्ष भएर चुनाव हार्ने थापा एक्लो उम्मेदवार नभएर उपेन्द्र यादव पनि हुन् । सप्तरी–२ मा यादव चन्द्रकान्त उर्फ सीके राउतसँग दोब्बर मतान्तरले पराजित भए । राउतले ३५ हजार ४० मत पाउँदा यादवले १६ हजार ९ सय ७९ पाए । पहिलो अभ्यासमै राउतले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाए । अहिले उपेन्द्र जसरी राजनीतिमा उदाए त्यसैगरी अस्ताए भनेर टिप्पणी गरिन्छ । 

सबै उम्मेदवार जित्छु भनेर चुनावमा गएका हुन् तर त्यसो भन्नेमध्ये धेरैको जमानत जफत भएको छ । धेरैले धेरै मतान्तरले हारेका छन् । थोरैले थोरै मतान्तरले हारेका छन् । जे जसरी जिते पनि प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने १६५ उम्मेदवार मात्रै हुन् । 

निर्वाचनअगाडि एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीले प्रत्यक्षमा एक सय सिट जित्छ भन्थे तर आधा पनि आएन । प्रिय र भित्रियाहरू भटाभट हारे । एउटा टेलिभिजन अन्तर्वार्तामा प्रस्तोताले ओलीको प्रक्षेपणमा ५० सिट घटाइदिँदा आगो भए । कांग्रेस दोस्रो ठूलो पार्टी हुने त्यो पनि एमालेभन्दा निकै पछि परेर भनेका थिए । माओवादी उम्मेदवारले जित्ने क्षेत्र दुई हातको औंला पनि नभरिने ओलीको आँकलन थियो । आफूबाटै फुटेर गएको नेकपा एकीकृत समाजवादीका विषयमा त निकै निम्न स्तरको टिप्पणी गर्थे । ओलीले सार्वजनिक कार्यक्रम र चुनावी सभामा जे जे भने पनि पार्टीको आन्तरिक बैठकमा भनेका कुरा पक्कै फरक थियो । आन्तरिक बैठकमा गरेको आँकलन वरिपरि एमाले पुगेकै छ । ओलीले बाहिर जे बोले पनि संसद विघटनको कालो दाग सेतो दौरामा टल्किरहेकै थियो । नेता भीम रावललाई नेता नगन्नुको परिणाम एमालेले सुदूरपश्चिममा व्यहोरेकै छ । एमालेले गढ भन्ने गरेका क्षेत्रको हविगतले पनि धेरै कुरा भनेकै छ । 

ओलीको अरु कुरा छाडिदिऊँ, एउटा मात्रै प्रक्षेपण मिल्नेवाला छ महन्थ ठाकुर र माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी बन्दैन । समानुपातिक मत गणनाको अहिलेसम्मको नतिजाले त्यही भनिरहेको छ । हुन त यसमा माधवकुमार नेपालको कुरा पनि अलिकति मिलेको छैन । उनले आफ्नो पार्टीले समानुपातिकतर्फ २० लाख मत ल्याउँछ र एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेका थिए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि आफूले चमात्कारिक नतिजा ल्याउने भन्थे । उनको दाबी थियो– मेरो प्रतिस्पर्धी नेकपा एमाले मात्रै हो । लिङ्देनको कुरामा पनि बडो विरोधाभाष थियो, जोसँग तालमेल गरेको छ । उही प्रतिस्पर्धी ? 

निर्वाचनअघि र पछिका पनि अमिल्दा धेरै कुरा छन् । चुनाव भनेको जसरी पनि जित्नुपर्छ भन्ने भाष्य स्थापित गरिँदैछ । निर्वाचनलाई कसरी विकृत बनाइएको छ भन्ने हेर्न कहीँ जानै पर्दैन । स्याङ्जा क्षेत्र–२ तिर हेरे हुन्छ । एउटा नारा नै बनाएको छ– ‘स्याङ्जालीलाई नभन जाली, पितृले नि भोट हाले यसपालि ।’ कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जा गरेर चुनाव जितेको दाग कुनै पनि हालतमा मेटाउन सक्ने देखिन्न । रातो पासपोर्ट काण्डपछि गुरुङले अब बोकेर हिँड्ने दाग पितृलाई पनि मतदान गराउनु हो । गुरुङले यो दाग जीवनभर बोके पनि सांसद पद ५ वर्षमात्रै हो । 

जसले जे–जे गरे अब नागरिकले पाइपाइ हिसाब राख्न थालेका छन् । झुक्याएर एक कार्यकाल सांसद भए पनि त्यसले आफूलाई आजीवन पिरोल्ने काम हाम्रा जनप्रतिनिधिले गर्दैनन् भन्ने विश्वास गरौं ।
 

टिप्पणीहरू