धादिङको बृध्द दम्पत्ति हत्याबारे अझै पत्ता लागेन रहस्य

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीस्थित आहालेमा हिजो सोमवार बिहान मृत भेटिएको दम्पत्तिको हत्याबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले अनुसन्धान थालेको छ । 
टोलीले तालिमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान थालेको हो । 

उत्तरी क्षेत्रमा पर्ने आहालेका ७५ वर्षीय विष्णुबहादुर आलेमगर र श्रीमती ६८ वर्षकी निरमाया आफ्नै घरमा हत्या गरिएको अवस्थामा बिहान भेटिएका हुन् । 

उनीहरू जस्ता र काठको कच्ची घरमा बस्दै आएका थिए । 

विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा भेटिएको थियो । निधारमा र दाहिने आँखामाथि गहिरो चोट छ । निरमायाको शव घरभित्रै भेटिएको छ । 

घटनास्थल वरपर शंकास्पद केही देखिँदैन । चोट लागेको ठाउँमा रगतका टाटा मात्रै देखिन्छ । तर,घटनाको प्रकृति हेर्दा हत्या नै हो भन्न सकिन्छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक श्यामबहादुर खत्री भन्छन्- 'घरभित्र भएको निरमायाको शव र घरबाहिर खाटमा नै भएको विष्णुबहादुरको शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धानअनुसार नियोचित हत्या हुनुपर्छ ।' 

दम्पत्तिको एक छोरी र छोरा छन् । छोराले काठमाण्डौमा डेन्टल क्लिनिक चलाउँदै आएका छन् भने छोरी विवाहपश्चात श्रीमानसंगै काठमाडौंमा बस्छिन् । 

घटनास्थलको प्रारम्भिक अनुसन्धानपश्चात् प्रहरीले शवलाई पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी गरिरहेको छ । घटना स्थल पुग्न जिल्ला सदरमुकाम धादिङबेसीबाट करिव तीन घण्टा लाग्छ ।

टिप्पणीहरू