पल शाहको यौन दुर्व्यवहारमा जोडिएकी गायिकासँग माफी मागियो

पल शाहको यौन दुर्व्यवहारमा जोडिएकी गायिकासँग माफी मागियो

लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन् । हाल जेलमा रहेका अभिनेता पल शाहले यौन दुर्व्यवहार गरेको भनिएकी गायिकालाई लक्षित गर्दै गीत गाएको भन्दै घिमिरेको आलोचना भएको थियो । आलोचनाबाट बच्न उनले सामाजिक सञ्जालबाटै माफी मागेकी हुन् ।

फेसबुकमा गायिका घिमिरेले लेखेकी छन्,‘कुनै प्लान गरेर डलरकै लागि भनेर,सोचेर,सम्झेर,स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ उनले बहिनी, छोरीझैँ सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी हुन् । घिमिरेको गीत सार्वजनिक भएपछि उनको चर्को आलोचना हुँदै आएको थियो । कतिपय दोहोरी गीतका कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका छन् ।

माफी माग्ने क्रममा उनले लेखेकी छन्,‘सर्वप्रथम त सबैलाई यो जानकारी गराउँछु कि छहारी युट्युब च्यानलमा अपलोड भएको दोहोरी जसलाई अहिले विभिन्न टिकाटिप्पणी गरिएको छ । त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर,सम्झेर कुनै स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइएको गीत होइन । तर, पनि त्यो गीतलाई जसरी अहिले बुझिएको छ र जुन तरिकाले हल्ला गरिएको छ यो देख्दाचाहिँ म आफैं पनि छक्क छु । अझ बढि दुःखी छु । राम्रै गरी हेरेरै हिँड्दा पनि त कहिलेकाहीँ ठेस लाग्ने गर्छ ।’

उनले अगाडि लेखेकी छन्, ‘हो त्यस्तै भयो दाइ,सुमन परियारसँग मैले गीत गाउँदा । गाउन बसियो, गाउँदै जाँदा माया पिरतीको कुरा आयो । माया पिरतीको कुरा आउँदा अञ्जानमा केही त्यस्ता शब्द आए जुन कसैलाई लक्षित गरेझैं भयो । बुझाइ सकारात्मकभन्दा नकारात्मक भयो । जसरी अहिले दिदी समीक्षा अधिकारीलाइ लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ । यो कुराले दिदीलाइ पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुने छैन ।’

सोही गीतलाई लिएर अग्रज कलाकारहरुले व्यक्त गरेको प्रतिक्रियाप्रति पनि घिमिरेले दुःख व्यक्त गरेकी छन् । कुरै नबुझी पक्ष वा विपक्षाम बोलिदिँदा आफू विवादमा परेको उनको भनाइ छ । आफूबाट गल्ती हुँदा आफूलाई नै सम्झाएको भए राम्रो हुने उनको बुझाइ छ ।

घिमिरेले भनिन्, ‘हजुरको उपदेश शिरोधार्य गर्थें होला । तर, मन क्षतविक्षत हुनेगरी लेखियो, बोलियो यसले निकै दुःखी बनायो । अब उप्रान्त गीत गाउँदा ख्याल राख्नेछु । हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहन्न । सँधै हजुरहरुकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ । कतै बिराएछु भने सल्लाह सुझाव दिँदै होला । अन्त्यम फेरि पनि माफी माग्दछु ।’

टिप्पणीहरू