सीमामा खुलेआम तस्करी : महिला, बालबालिका र अपाङ्गता भएकालाई चुनौती
-आषिका लम्साल
खुल्ला सीमानाका कारण प्रदेश १ मा अत्यधिक भन्सार छली हुँदै आएको छ । प्रहरीले दैनिक दर्जनौं पुरुषलाई पक्राउ गरेको बताइन्छ । चोरी तस्करीमा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु चुनौती बनेका छन् ।
‘चोरी तस्करी अपराध हैन पेशा हो’ भन्दै तस्करहरुले उक्त समूहकालाई भरियाको रुपमा प्रयोग गर्दै आइरहेको छ । प्रदेश १ को प्रहरीले सीमा क्षेत्रमा वर्षौंदेखि हुँदै आएको अवैध ओसारपसारलाई रोक्न बेलाबखत विभिन्न जनजागरण अभियान सञ्चालन गरेको बताएको छ । तर, त्यसले निरन्तरता पाउन नसक्दा उक्त क्रम अझैपनि रोकिएको छैन । भन्सार प्रशासन र प्रहरीले तस्करी नियन्त्रण गर्न नसकेको गत मंसिर २५ गते बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले निष्कर्ष निकालेको छ ।
तस्करीका कारण विराटनगर महानगरपालिकाको १५, १६, १७ र १८ वडाका नागरिकले सास्ती पाउने गरेका छन् । उक्त क्षेत्रमा रातको समय झगडा र झडप भइरहन्छन् । राति सुत्न पनि सकस परेको स्थानीयको गुनासो छ । गत मंसिर २३ गते राति विराटनगर भन्सारको ३ नम्बर ढाट क्षेत्रमा भन्सारका कर्मचारी र तस्करहरुबीच झडप भएको थियो ।
भरियाका रुपमा प्रयोग हुँदै आएका महिला र बालबालिकालाई तस्कर समूहले विभिन्न ढंगले उकासेपछि उनीहरुले कर्मचारीमाथि हातपात गर्न खोजेको बताइन्छ । ढुंगामुढा गरेर नियन्त्रणमा लिइएको मालवस्तु खोसेर उनीहरु त्यहाँबाट भागेका थिए ।
मोरङका सिडिओ तथा राजस्व चुहावट समितिका अध्यक्ष काशिराज दाहालले उक्त घटनाले वेरोजगारीको विकराल अवस्थालाई उजागर गरेको बताएका छन् । सीमा क्षेत्रमा भरियाका रुपमा प्रयोग हुँदै आएका समूहलाई वैकल्पिक रोजगारीमार्फत् व्यवस्थापन गर्ने प्रतिबद्धता सिडिओले जनाए ।
उनले भने, ‘जबसम्म भरियाका रुपमा महिला, बालबालिका र अपाङ्गहरुको प्रयोग रोकिँदैन तबसम्म भन्सार छली नियन्त्रण हुँदैन । शान्ति सुरक्षा कायम गर्न चुनौती देखिएकाले जनप्रतिनिधिको सहयोगमा उनीहरुलाई वैकल्पिक रोजगारी दिन पहल थालेका हौं ।’
प्रहरीले संकलन गरेको विवरणअनुसार विराटनगर भन्सार क्षेत्रमा मात्र एकसय बढी अपाङ्गता भएका व्यक्तिहरु अवैध ओसारपसारमा संलग्न छन् । उनीहरुले आफूहरु रहरले उक्त कार्यमा संलग्न नभएको गुनासो गर्दै आएका छन् ।
साथै, रोजगारीको निम्ति प्रदेश सरकार र जनप्रतिनिधिहरुसँग माग पनि गर्दै आएका छन् । उनीहरुको संख्यामा अहिले केही कमी देखिएको छ । तर पनि निरुपण हुन नसकेको र बेरोजगारी तथा गरिबी यसको प्रमुख कारण भएको बताइन्छ ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले पक्रेर मात्र वर्षौंदेखि आएको सीमा क्षेत्रको चोरी तस्करी पूर्ण नियन्त्रण गर्न असम्भव भएको बताए । कोइरालाले भने, ‘अब हामी जनप्रतिनिधिको सहयोगमा महिला, बालबालिका र अपाङ्गता भएकाहरुलाई तस्करीमा संलग्न हुनेतर्फ निरुत्साहित गर्ने कार्यक्रम थाल्ने छौैं ।’
अपराधलाई अधिकारका रुपमा बुझियो
झापा, मोरङ र सुनसरीका सीमा क्षेत्रमा बसोबास गर्नेहरुले भन्सार छलेर चोरी तस्करी गर्नुलाई गरिखाने पेशाका रुपमा बुझ्ने गरेका छन् । यसैले उनीहरु यता र उता हुने अवैध ओसारपसारलाई आफ्नो अधिकार भएको बताउँदै निर्धक्कका साथ त्यसमा संलग्न हुँदै आएका छन् । गलत बुझाइका कारण तस्करहरुलाई आफ्नो अवैध पेशा अघि बढाउन सहज भएको बताइन्छ । ‘अवैध ओसारपसार अपराध हो, यसले व्यक्ति, घर र समाजमा गलत असर पार्छ,’ प्रहरीको भनाइ छ ।
तस्करहरुले रोजगारीको प्रलोभनमा पूरै परिवारलाई ओसारपसारमा सक्रिय गराउने गरेको पाइएको छ । यसबाट उनीहरुका बालबालिकाको पढाइ र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । युवाहरु धमाधम कुलतमा फसेका छन् ।
चोरी तस्करीमा परेर धेरैको ज्यान गएको छ भने केही अभिभावकविहीन देखिन्छन् । तस्कर र व्यापारी मालामाल भए पनि गरिबको दैनिकी थप दयनीय बन्दै गएको छ । जनप्रतिनिधिहरुले तस्करीलाई पेशा होइन, अपराध हो भनेर अझैसम्म पनि बुझाउन सकेका छैनन् । सम्बन्धित निकाय सक्रिय भएर यसको नियन्त्रणमा लागेको अवस्थामा समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास लिइएको छ ।
सीमा क्षेत्रमा अत्यधिक संख्यामा बालबालिकाहरु उक्त कार्यमा जोडिएको पाइन्छ । बालबालिकालाई काुनन नलाग्ने भएकाले उनीहरुलाई तस्करहरुले भरिया बनाएका हुन् । कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाको हकअधिकार खोसिएको छ भने उनीहरु गलत बाटोमा हिँडिरहेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरु पनि उक्त अवैध धन्दामा जोडिएका छन् । उनीहरुलाई नेपाल र भारत दुवैतिरका व्यापारीले प्रयोग गरेको पाइन्छ । उनीहरुले प्रयोग गर्ने विशेष खालको साइकलमा त्यस्ता सामाग्री ओसारपसार हुँदै आएको प्रहरीको भनाइ छ ।
पहिलेभन्दा सुधार, तर विभिन्न क्षेत्रको संरक्षण
भुक्तभोगीहरुका अनुसार प्रहरीले कडाइ गर्न थालेपछि सीमा क्षेत्रमा हुने अवैध ओसारपसारमा केही कमी आएको छ । प्रहरीहरु कारबाहीमा पर्न थालेपछि मोलमोलाई गरेर नाकाका थाना चौकीमा दरबन्दी लिएर आउने चलन पनि हटेको छ ।
तर, अझैपनि यहाँ पैसा र शक्तिको चलखेल रोकिन सकेको छैन् । जसले गर्दा अवैध ओसारपसार ठप्प हुन नसकेको जानकारहरुको बुझाइ छ । अवैध ओसारपसारमा संलग्नलाई पक्राउ गरेर भन्सारमा बुझाउन थालेपछि धेरैले यो कार्य छाडेका छन् । कोही सिटी रिक्सा र कोही टेम्पो चलाउँछन् भने कोही बन्द व्यापारमा लागेका छन् । पहिले विराटनगर–जोगबनी नाकामा दैनिक एक हजार बढी अवैध ओसारपसारमा संलग्न थिए ।
आम्दानीको सजिलो स्रोत भएकाले यस कार्यमा संलग्न हुनेको संख्या धेरै छ । व्यापारी र ठूला तस्करहरुको संख्या पनि उच्च देखिन्छ । उनीहरुले राजनीतिक दलको आडमा अधिक कमाउन अवैध ओसारपसार पेशा अंगालेका हुन् ।
आफनो दलको गृह प्रशासन भएको बेलामा स्थानीय कार्यकर्ताले प्रहरीलाई विभिन्न दबाब र प्रलोभनमा अवैध ओसारपसारको लाइन चलाउने गरेका छन् । यसबाट दलका नेता, व्यापारी र प्रहरी सबै मालामाल बन्ने तर गरिब सँधै मर्कामा पर्ने गरेको सत्य हो । तस्करीका कारण सीमा क्षेत्रमा पटकपटक राजनीतिक दलका कार्यकर्ताबीच विवाद उत्पन्न हुने गरेको छ । समाजसेवाको आडमा तस्कर गर्नेहरु पनि सीमा क्षेत्रमा प्रशस्त भेटिन्छन् ।
तस्करहरुको तह
अवैध ओसारपसार गर्नेहरुको पनि विभिन्न तह हुने गरेको पाइएको छ । एकथरी दैनिक गुजाराका लागि अर्काको सामान साइकल, रिक्सा र टेम्पोमा राखेर वा आफैंले बोकेर ओसार्छन् । अर्काथरी साना व्यापारीसँगको सम्पर्कमा भारतीय बजारबाट विभिन्न उपभोग्य सामग्रीहरु आफैं किनेर भन्सार छलेर नेपाली बजारमा ल्याउँछन् ।
केहीले भारतीय बजारमा व्यापारीहरुले किनेका सामग्री भन्सार छलेर नेपाल ल्याइदिने (क्यारिङ गर्ने) ठेक्का लिने गरेका छन् । यसमा उनीहरुले निश्चित रकम लिन्छन् । ठूला व्यापारीहरुसँग साँठगाँठ गरेर मालवाहक सवारी साधनमा भन्सार कर्मचारी र प्रहरी प्रशासनसँग लाइन मिलाएर खुल्ला तस्करी गर्ने अर्को समूह पनि त्यत्तिकै सक्रिय देखिन्छ । यसबाहेक भन्सारभित्रै एजेण्टहरुमार्फत भन्सार जाँचकीसँग मिलोमितोमा मूल्यांकन कम गराएर वा परिमाण घटाएर कम राजस्व तिर्ने माथिल्लो तह पनि सीमा क्षेत्रमै सक्रिय देखिन्छन् । ‘सीमा क्षेत्रमा जुन स्तरको तस्कर हुन्छ, ज्याला पनि सोहीअनुसार पाइन्छ,’ अवैध ओसारपसारमा संलग्न एक जनाले भने ।
टिप्पणीहरू