ड्युटीमा रहेका सहायक हवल्दारको मृत्यु

ड्युटीमा रहेका सहायक हवल्दारको मृत्यु

कर्तव्य पालनाकै क्रममा इलाका प्रहरी कार्यालय मनहरी,मकवानपुरमा कार्यरत सहायक हवल्दारको हृदयाघातका कारण ज्यान गएको छ ।

चितवनको माडी नगरपालिका घर भएका सहायक हवल्दार राजेन्द्र महतो इलाका प्रहरी कार्यालय परिसरमै ड्युटीमा रहेका बेला अकस्मात बिरामी भएका थिए । आज बिहान ३ बजेतिर उनलाई श्वास प्रश्वासमा असजिलो भएपछि नजिकैको मनहरी अस्पताल लगिएकोमा थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्याइएको थियो । तर, मेडिकल कलेज पुग्नासाथ चिकित्सकले मृत घोषणा गरिदिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख कृष्णप्रसाद ढकालले बताउनुभयो ।

मृतक महतोको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । मृतक महतो इलाका प्रहरी कार्यालय मनहरीमा सवारी चालकको रुपमा कार्यरत थिए ।

टिप्पणीहरू