महिला अधिकार मञ्चले गर्यो निर्मलाका लागि न्यायको माग

महिला अधिकार मञ्चले गर्यो निर्मलाका लागि न्यायको माग

महिला अधिकार मञ्च,बाँकेले एकल महिला निर्मला कुर्मीको घटनामा न्यायिक आयोग गठन गर्न माग राखेको छ । 

अपहरण गरी मारिएकी निर्मलाको न्यायको माग गर्दै देशव्यापी आन्दोलन गरेको एक वर्ष बितिसक्दा पनि अभियुक्तहरु न्यायिक हिरासतमा नआएपछि मञ्चका पदाधिकारीहरु फेरि पनि सडकमा उत्रिएका हुन् । 

अनुसन्धानका लागि सरकारसंग पटकपटक वार्ता भएपनि कारबाही प्रक्रिया अघि बढ्न नसकेको मञ्चले बताएको छ । 

‘सरकारद्वारा पटक पटक वार्ताका नाममा तथा सरकारी संरचनाहरुद्वारा अनुसन्धानको नाममा पटकपटक हिंसामा परेका महिलाहरुको मुद्दा लम्ब्याउनु ओझेलमा पारिने शक्तिमा पहुँच भएका सत्ताका पुजारी भ्रष्टाचारीहरुको लागि मात्र राज्यका निकाय उध्दार पध्दति स्वीकार्य नहुने स्पष्ट पार्न चाहन्छौं’,जारी विज्ञप्तिमा उल्लेख छ । 

सरकारमा समेत पितृसत्तात्मक सोच हावी भएकाले महिलालाई मानवको दर्जाले नहेरिएको मञ्चको आरोप छ । 

वंशनाशको पीडामा न्यायका लागि राज्यको निकायसंग गुहार माग्दै हिँडेकी निर्मलालाई अपहरण गरी बन्धन बनाएर कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएका मुख्य अभियुक्त बादशाह कुर्मीलाई टिकट दिनुले हिंसात्मक मानसिकता भएकालाई थप बल पुर्याएको मञ्चको ठम्याइ छ । 

मञ्चले भनेको छ,‘अपहरण,शरीर बन्धन गरी कर्तव्य ज्यानजस्तो संवेदनशील मुद्दामा जाहेरी दर्ता भएका मुख्य अभियुक्त बादशाह कुर्मीले टिकट पाई रहँदा महिलाहरुको सुरक्षा मानव अधिकारको हनन हिंसात्मक मानसिकता भएकालाई थप बल पुर्याएको स्पष्ट छ ।’

निर्मलाको न्यायको माग गर्दै मञ्चले काठमाडौंको माइतीघर मण्डलामा पुनः पनि आन्दोलन थालेको छ । मञ्चकी इञ्चार्ज रुबी खान र राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रीय सदस्य मनकुमारी गुरतालको नेतृत्वमा धर्ना थालिएको हो । 

न्यायिक आयोगमार्फत निर्मलाको तमसुकमा भएका सही छाप पुनः चेकजाँच गर्न मञ्चले भनेको छ । निर्मलाको मुद्दालाई अदालतमा पुर्याउनुपर्ने र आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने मागसमेत राखिएको छ ।

अपहरण,शरीर बन्धक र हत्या भएकी निर्मलाको न्यायको माग गर्दै यसअघि पनि राजधानीमा प्रदर्शन भएको थियो । उनीहरुलाई न्याय दिलाउनका माग गर्दै नेपालगञ्जबाट पैदल हिँडेर रुबी खानलगायतका अभियन्ताहरुको टोली काठमाडौं आएको थियो । 

निरन्तरको दबाबपछि सरकारले छानबिन समिति गठन गरेपनि दोषी कठघरा नआएपछि उक्त टोलीले पुनः आन्दोलन थालेको हो ।

टिप्पणीहरू