भक्तपुरमा कोरोनाको डर भयंकर

भक्तपुरमा कोरोनाको डर भयंकर

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले कोरोना भाइरसको नयाँ भेरियन्टबाट जोगिन आग्रह गरेको छ । छिमेकी भारतसहित अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको उल्लेख गर्दै प्रशासनले त्यसको जोखिम र असर नेपालमा पनि पर्न सक्ने बताएको छ । 

प्रशासनले सूचना जारी गर्दै सार्वजनिक यातायात तथा बढी भीडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, एकअर्काबीच भौतिक दूरी कायम राख्न,व्यक्तिगत सरसफाइ र स्वास्थ्य प्रोटोकल पालना गर्न–गराउन सुसूचित गराएको छ । 

त्यस्तै,स्वास्थ्य कार्यालय,भक्तपुरले तयार गरी स्थानीय तहहरुमा पठाएको सन्देशमूलक सामग्रीहरु व्यापक प्रचारप्रसार गर्न उल्लेख गर्दै प्रशासनले भनेको छ,‘वडास्तरबाटै स्वास्थ्य प्रोटोकलको पालना गर्ने–गराउने व्यवस्था स्थानीय तहहरुले मिलाउने ।’

धेरै मानिस जमघट हुने कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रुपमा जनस्वास्थ्य मापदण्डको पालना गराउन सम्बन्धित आयोजकलाई निर्देशन दिइएको छ । कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई अनिवार्य खोप लगाउन र जिल्लाका स्थानीय तह, सबै सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संस्थान, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबै पक्षलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न भनिएको छ ।

टिप्पणीहरू