इलेक्ट्रिक रिक्सा चलाउन अनिवार्य दर्ता गर्नैपर्ने
-ऋषि भट्टराई
बुटवल उपमहानगरपालिकाले दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाएको छ । उपमहानरपालिकाले दर्ता नभएका ई–रिक्साका कारण दुर्घटना बढेको र ट्राफिक व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै यस्तो निर्णय गरेको बताइएको छ ।
बुटवलमा अब दर्ता भएका एक हजार २५६ वटा ई–रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिएका छन् ।
दर्ता नभएका ई–रिक्सा सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । बुटवलमा दर्ता नभएका १ सय ८४ ई–रिक्सा रहेको विवरण उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले उपलब्ध गराएका छन् ।
सो सम्बन्धी कार्यविधि २०७६ मा बने पनि नयाँ नगर प्रमुख आएपछि यो कामले गति लिएको उनको भनाइ छ । पछिल्लो छ महिनादेखि ती रिेक्साको दर्ता प्रक्रिया अगाडि बढाइएको र आगामी दिनमा सडकको क्षमताअनुसार दर्ता र स्विकृति दिइने बताइएको छ । उनले भने, ‘हामीले इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला ट्राफिक कार्यालयलगायत सरोकारवालाहरुको राय सल्लाहबमोजिम उक्त कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाएका छौं ।’
टिप्पणीहरू