पोताला दरबार आजदेखि सर्वसाधारणको निम्ति खुल्यो

पोताला दरबार आजदेखि सर्वसाधारणको निम्ति खुल्यो

कोरोना संक्रमण बढेपछि बन्द गरिएको तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार आजदेखि खुलेको छ । चार महिनाभन्दा बढी समयदेखि बन्द गरिएको दरबार सर्वसाधारणको निम्ति आजदेखि खुल्ला गरिएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तिब्बतमा गत सेप्टेम्बरताका कोरोना संक्रमण निकै बढेपछि सर्वसाधारणको भीड रोक्न उक्त निर्णय गरिएको थियो । अहिले संक्रमणमा केही कमी आएपछि पर्यटकीय र धार्मिक महत्व बोकेको उक्त दरबार आजदेखि खुल्ला गर्ने निर्णय गरिएको हो ।

पछिल्लो निर्णयानुसार दरबार प्रवेशमा लाग्दै आएको शुल्क आगामी मार्च १५ तारिखसम्म निःशुल्क तोकिएको छ । तर, पोताला दरबार घुम्न जान चाहनेले एक दिन अगावै अनलाइन आवेदन गर्नुपर्ने दरबार प्रशासनले जनाएको छ ।

अबदेखि अर्को सूचना नभएसम्मका लागि दरबार प्रवेश गर्ने समय बिहान साढे ९ बजेदेखि दिउँसो २ बजे तोकिएको छ । सातौं शताब्दीमा तिब्बतका राजा सोङ्सा गाम्बोले निर्माण गर्न लगाएको उक्त दरबारलाई पाँचौं दलाइ लामाले सत्रौं शताब्दीमा अझ विशाल बनाएका हुन् । ऐतिहासिक निर्माणको अनुपम नमूना मानिएको पोताला दरबारलाई सन् १९९४ देखि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

टिप्पणीहरू