युरोपेली मुलुकले नै धेरै रुसी तेल खरिद गरेको भारतको दाबी
विदेशमन्त्री एस.जयशंकरले सस्तो मूल्यका कारण भारतले भन्दा युरोपका अधिकांश देशले रुसी पेट्रोलियम पदार्थ ६ गुणा बढी खरिद गरेको रहस्य खोलेका छन् । हाल अष्ट्रियाको भ्रमणमा रहेका जय शंकरले रुस–युक्रेन युध्द शुरु भएदेखि नै अमेरिकालगायत पश्चिमी विश्वले मस्कोमाथि विभिन्न नाकाबन्दी लगाए पनि भारतले अहिलेसम्म बेवास्ता गरेको धारणा राखेका हुन् ।
अष्ट्रियाको सरकारी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा जयशंकरले भने,‘सस्तो मूल्यको फाइदा उठाउँदै,दिल्लीले भ्लादिमिर पुटिनको देशबाट तेल आयात बढाउन जारी राखेको छ । जुन विशेषगरी युरोपका विभिन्न देशहरूमा निरन्तर चलिरहेको छ ।’
गत फेब्रुअरीदेखि युरोपेली मुलुकले भारतभन्दा ६ गुणा बढी रुसी तेल आयात गरेको उनको दाबी छ । उनको भनाइ छ, ‘भारतले प्रतिव्यक्ति आय अपेक्षाकृत कम भएकाले सस्तो तेलको फाइदा उठाउनु पर्छ । जबकी धेरै आम्दानी भएका युरोपका मुलुकले त्यही तेल किनिरहेका छन् ।’
अमेरिका र युरोपेली देशहरूले मस्कोमाथि प्रतिबन्ध लगाएपछि रुसले भारतलगायत मुलुकलाई तेलको मूल्य घटाएको छ । इराक र साउदी अरेबिया जस्ता मुलुकहरूलाई उछिनेर रूस अहिले भारतको सबैभन्दा ठूलो तेल निर्यातक बनेको छ ।
टिप्पणीहरू