एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरीको प्राणान्त
समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक २ की एक महिलाको मृत्यु भएको छ । प्रसुतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ माङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी माङजाबुङमा प्रसुतिका लागि ल्याइएकी उनले ११.५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । घर पठाउन तयारी भइसकेका बेला दिउँसो ४ बजे उनी बेहोस भएको स्वास्थ्य केन्द्र माङजाबुङका प्रमुख सुतिन्द्र मेहताले बताए । स्वास्थ्यमा समस्या भएपछि उनलाई रेफर गरिएको थियो ।
मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीमा छन् । सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा ढिलो भएको आफन्तले बताएका छन् । पाँचथर अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले प्रसुतिपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए ।
टिप्पणीहरू