अख्तियारको सुरक्षार्थ तैनाथ प्रहरीले लिए आफ्नै ज्यान
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको सुरक्षामा खटिएका एक जनाले पासो लगाएका छन् । आयोग सुरक्षार्थ खटिएका प्रहरी जवान खगेन्द्र नेपाली हिजो साँझ ड्युटीको क्रममा झुण्डिएको बताइएको छ ।
उनी इन्सास हतियार बोकेर रात्रिकालीन हाईपोष्ट ड्युटीमा बसेको र सोही क्रममा सिलिङमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । २०७४ देखि सेवामा प्रवेश गरेका उनले यसअघि तालिमको अवधिमा डिप्रेसनको औषधि खाएको प्रहरी स्रोतले जनाएको छ ।
हिजो नेपाली एक्लै ड्युटीमा बसेका थिए । आयोगको मूल गेटमा तैनाथ अर्का प्रहरीले चिसोमा तातोपानी लिएर जाँदा उनी झुण्डिएको देखेका हुन् । उक्त घटना हिजो साँझ साढे ७ बजेको समयमा भएको थियो ।
जवान झुण्डिएको देखिएपछि तत्काल कमाण्डरलाई खबर गरेर नजिकैको प्रहरी वृत्त हाँडीगाउँमा जानकारी गराइएको बताइन्छ । वृत्तबाट प्रहरीको अर्को टोली आएर शवको मुचुल्का उठाएको थियो । उक्त शवलाई आज बिहान पोष्टमार्टमको निम्ति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
यसअघि उनी दैलेखमा कार्यरत थिए । सुर्खेत निवासी उनी चार महिनादेखि अख्तियारको ड्युटीमा सरुवा भएर आएका हुन् । अविवाहित नेपालीको मृत्युको कारण हालसम्म खुलेको छैन । तर केही दिनदेखि उनी मानसिक तनावमा रहेको रुम पार्टनर प्रहरीको भनाइ छ ।
साँझसम्ममा शव परिवारको जिम्मा लगाउने तयारी भैरहेको छ ।
टिप्पणीहरू