युरोपमा रोजगारीको प्रलोभन देखाएर ठग्ने महिला प्रहरी हिरासतमा
फिनल्याण्डमा आकर्षक, तलब सुविधामा रोजगारी मिलाइदिने प्रलोभनमा सर्वसाधारण ठगेकी एक महिला पक्राउ परेकी छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी फिनल्याण्डमा आकर्षक, तलब सुबिधामा रोजगारी मिलाइदिने भन्दै उनले सात लाख ठगेकी हुन् ।
पीडितहरुसँग महिलाले शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानीको फोटोलगायत कागजात मागेर फिनल्याण्ड जान जनही पाँच लाखको दरले रकम माग गरेकी रहस्य खुलेको छ । त्यसपछि मासिक एक हजार ५० यूरो अर्थात नेपाली एक लाख ४२ हजार आम्दानी हुने र खाना बस्नको सुविधा रहेको उनले बताएकी हुन् ।
म्याग्दीकी २६ वर्षीया मनिषा पुनले अफर लेटर, वर्क परमिटलगायत कागजात सामाजिक सञ्जालबाट मगाउँदै पीडितलाई राजधानीमा बोलाएकी थिइन् । त्यसपछि उनीहरुले एनआईसी एसिया बैंकमा रहेको पुनको खाता नम्बर २८०५७५१५७७४३२००१ मा रकम जम्मा गर्न लगाएकी हुन् ।
खातामा सात लाख रुपैयाँ जम्मा भएपछि सम्पर्कविहीन भएपछि प्रहरीले उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान एवम् खोजतलास गरेको हो । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त ठगीमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई काठमाडौंको जोरपाटी बस्ने २६ वर्षकी मनिषा पुनलाई शुक्रबार पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको निम्ति जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
टिप्पणीहरू